काठमाडौं, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा ३५ दशमलव ७६ प्रतिशतको वृद्धि भएको जानकारी दिएको छ । संस्थाले समीक्षा अवधिमा १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको खुद नाफा १० करोड १८ लाख २३ हजार रुपैयाँ रहेको थियो । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी घटे पनि सञ्चालन आम्दानीमा भएको उल्लेख्य वृद्धिका कारण संस्थाको नाफा बढ्न सफल भएको हा । अघिल्लो वर्ष २२ करोड ३६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर १९ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ । तर सञ्चालन आम्दानी भने २० करोड २० लाख ४४ हजार रुपैयाँबाट बढेर २५ करोड २७ लाख ५८ हजार रुपैयाँ पुगेको छ । नाफामा सुधारसँगै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ ।
अघिल्लो वर्ष सात रुपैयाँ ९८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अवधिमा बढेर ११ रुपैयाँ चार पैसा पुगेको छ । यसैगरी प्रतिसेयर नेटवर्थ एक सय २५ रुपैयाँ ९५ पैसाबाट बढेर एक सय ३१ रुपैयाँ सात पैसा पुगेको छ । संस्थाको निष्क्रिय कर्जा (एनपीएल) भने केही बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा तीन दशमलव चार प्रतिशत रहेको निष्क्रिय कर्जा असार मसान्तसम्म बढेर तीन दशमलव ९२ प्रतिशत पुगेको छ ।
चुक्ता पुँजी एक अर्ब तीन करोड आठ लाख ४६ हजार एक सय ९५ रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा २० करोड ७१ लाख ३६ हजार रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ ।