हेटौँडा । बागमती प्रदेशमा नेकपा (एमाले) ले प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।एमालेले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएको हो। एमाले नेता तथा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेलसहितका एमाले मन्त्रीहरूले प्रदेश प्रमुखको कार्यालयमा पुगेर समर्थन फिर्ताको पत्र बुझाएका हुन्। पत्रमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गरेका छन्।
दुई वर्षअघि बनेको कांग्रेस–एमाले सत्ता गठबन्धन टुटेसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परेको छ।एमालेका मन्त्रीहरूले बुधबार नै मुख्यमन्त्री बानियाँसमक्ष सामूहिक राजीनामा दिने तयारी गरेका छन्। मन्त्री पौडेलले मुख्यमन्त्री बानियाँ चितवनबाट फर्किएपछि राजीनामा बुझाइने जानकारी दिएका छन्।यसअघि एमाले संसदीय दलका नेता थपलियाले मुख्यमन्त्री बानियाँलाई पत्र लेख्दै बुधबारदेखि लागू हुने गरी एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीले संयुक्त रूपमा राजीनामा दिने जानकारी गराएका थिए।पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीले बुधबारकै मितिदेखि लागू हुने गरी पदबाट संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ।एमालेका नेता थपलियाले मन्त्रीहरूको राजीनामापछि सरकारलाई दिएको समर्थन फिर्ताको प्रक्रिया अगाडि बढाइने बताएका छन्।
बागमती प्रदेश सरकारमा एमालेबाट तीन जना बिनाविभागीयसहित छ जना मन्त्री सहभागी थिए। एमालेबाट मधुसूदन पौडेल कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री, बिन्दु श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री र डा। दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री थिए।त्यस्तै, मुख्यमन्त्री बानियाँले एमालेका मन्त्रीहरू हरिराम थापा, किरण थापा मगर र भरतबहादुर केसीलाई क्रमशः श्रम, रोजगार तथा यातायात, स्वास्थ्य तथा सामाजिक विकास र वन तथा वातावरणसम्बन्धी जिम्मेवारी तोकेका थिए। यसअघि बागमती प्रदेशमा रहेका १४ वटा मन्त्रालयको सङ्ख्या घटाएर आठ कायम गरिएको छ।