काठमाडौंं, एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा आयोजित ‘उद्योगको गहन विश्लेषण : नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूका लागि एआई’ विषयक कार्यक्रममा सहभागीहरुले उक्त जोड दिएका हुन् ।
कार्यक्रममा महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले कृत्रिम बौद्धिकता (एआई) नेपाली निजी क्षेत्रको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र नवप्रवर्तन बढाउने महत्वपूर्ण माध्यम भएको बताए । एआईको जिम्मेवार प्रयोग, डिजिटल पूर्वाधार, सीप विकास र नीति सुधारमार्फत नेपालले प्रविधिमा आधारित आर्थिक विकासलाई गति दिनुपर्ने बताउँदै उनले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्यबाट नेपालको आवश्यकताअनुरूप एआई इकोसिस्टम निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार नेपालमा पनि युवा उद्यमी, स्टार्ट–अप तथा नवप्रवर्तकहरूबीच एआईप्रति बढ्दो चासो देखिएको छ । ग्राहक सेवा, डिजिटल भुक्तानी, फिनटेक, स्मार्ट कृषि, पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा एआईको प्रयोगका सम्भावना विस्तार हुँदै गएको उनले बताए । ‘उपयुक्त नीति, डिजिटल पूर्वाधार, सीप विकास र लगानी सुनिश्चित गर्न सके नेपाली युवालाई प्रविधिको उपभोक्ता मात्र होइन, एआईमा आधारित समाधानका सिर्जनाकर्ता बनाउन सकिन्छ’, उनले भने ।
कार्यक्रममा अमेरिकी कम्पनी लिफ्ट डट एआईका संस्थापक तथा प्रमुख एआई अधिकृत डेभिड स्वाइसगुडले एआईको प्रयोगलाई निरन्तर अभ्यास गर्दै सीप विकास गर्न सकिने बताए । महासंघकी केन्द्रीय सदस्य जुना माथेमाले डिजिटल रूपान्तरणको वर्तमान युगमा एआई निजी क्षेत्रका लागि अवसर मात्र नभई आवश्यकता बनिसकेको बताइन् । नेपाली उद्योग–व्यवसायलाई प्रविधिसँग जोड्दै नवप्रवर्तन, अनुसन्धान तथा डिजिटल सीप विकासमा लगानी गर्न सके मुलुकको आर्थिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने उनको भनाइ थियो । कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आफ्नो व्यवसायमा एआईको प्रयोग, कार्यान्वयनका चुनौती, डेटा व्यवस्थापन, बजार विस्तार, ग्राहक सेवा तथा उत्पादन व्यवस्थापनसँग सम्बन्धित विविध जिज्ञासा राखेका थिए ।