काठमाडौं, लघुवित्त पीडितहरूले मंगलबार माइतीघर मण्डलादेखि बालुवाटारसम्म प्रदर्शन गरेका छन् । उनीहरूले लघुवित्त संस्थाहरुको शोषण बन्द गर्नुपर्ने सहितका विभिन्न नाराबाजीसहित र्याली निकालेका थिए । प्रदर्शनकारी बालुवाटार नजिकको पिपलबोट क्षेत्रमा पुग्दा नेपाल प्रहरीले ब्यारिकेड राखेर उनीहरूलाई अघि बढ्न रोकेको थियो । प्रदर्शन नियन्त्रणका लागि सशस्त्र प्रहरी बलसमेत परिचालन गरिएको थियो ।
प्रहरीले अघि बढ्न नदिएपछि प्रदर्शनकारीहरू सडकमै बसेर धर्नामा उत्रिएका थिए । उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । सोही क्रममा उनीहरूले सडकमै सभासमेत आयोजना गरी आफ्ना मागहरू पुनः दोहोर्याएका थिए । प्रदर्शनका कारण केही समय उक्त क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको थियो ।