काठमाडौं, एकल शक्ति आर्जनको कसरतमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लागेका छन् । यसअघिका सरकारका प्रधानमन्त्रीहरूले एकल भेट गरेर मन्त्रालय र मन्त्रीहरूको अवज्ञा गरेको आरोप लगाउने गरेको बालेनले प्रधानमन्त्री भएपछि एक सय दिन विदेशी मात्र होइन स्वदेशी उद्योगी/व्यवसायीसँग पनि भेट गरेनन् । तर, एक सय दिनको कामको आलोचना हुन थालेपछि प्रधानमन्त्री बालेनले एकल भेट सुरु गरे त्यो पनि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई बेवास्ता गरेर ।
सोही क्रममा प्रधानमन्त्री बालेनले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाललाई समेत सहभागी नगराई भारत र चीन राजदूतसँग बेग्लाबेग्लै भेट गरेका छन् । मंगलबार उनले अमेरिकी कार्यवाहक राजदूतलाई भेट्ने कार्यक्रम छ ।
गत चैत १३ गते प्रधानमन्त्रीको पदभारग्रहणसँगै भारतबाट बधाई र शुभकामना पाएका बालेनलाई नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेर शुभकामना दिन चाहेका थिए । तर, प्रधानमन्त्रीको सचिवालयले अस्वीकार गरेको थियो । त्यसपछि प्रधानमन्त्री बालेनले कूटनीतिज्ञ तथा विदेशी दातृ निकायका प्रतिनिधिहरूलाई सामूहिक भेटवार्ता गरे । यसले भारतीय राजदूतलाई पनि जवाफ दियो कि अब नेपालका प्रधानमन्त्रीले कसैलाई पनि एक्लाएक्लै भेट्दैनन् ।
एक सय दिनसम्म काम रफ्तारसँग गर्ने घोषणा गरेका बालेनले सबै क्षेत्रमा विचलन ल्याउनेबाहेक केही गरेन भनेर आलोचना हुन थालेपछि उनी स्वदेशी उद्योगी÷व्यवसायी तथा विदेशी कुटनीतिज्ञ तथा दातृ निकायका व्यक्तिसँग सम्बन्धित मन्त्रालयका मन्त्री सहभागी नगराई भेट्न सुरु गरेका छन् । यद्यपि उनले एक करिब महिनाअघि अर्थात असार २३ गते प्रधानमन्त्री कार्यालय सिंहदरबारमै एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डासँग भेटे गरेका थिए ।
प्राधनमन्त्री बालेनले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेनले चिनियाँ राजदूत झाङ माओमिङ र भारतीय राजदूत नविन श्रीवास्तवसँग बेग्लाबेग्लै एकल भेट गरे । उनले मंगलबार अमेरिकी कार्यबाहक राजदूत स्कर्ट अर्बमलाई भेट्ने कार्यक्रम छ ।
कहिले आफ्ना दुई मन्त्री सुधन गुरुङ र सुनिल लम्साललाई साथमा राखेर काम गर्ने टोली त कहिले एक्लै छु भन्ने स्टाटस फेसबुकमा लेखेर बहस गराउने प्रधानमन्त्री बालेनले सम्बन्धित मन्त्रीहरूलाई सहभागी नगराई नेपालका निजी क्षेत्र तथा विदेशी कुटनीतिज्ञसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री बालेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई वास्तै नगरी अर्थतन्त्रसँग सम्बन्धित विषयमा विभिन्न निकायका प्रमुखसँग भेट गरेका थिए । उनले आफू निकटका पूर्वाधार मन्त्रीलाई अवज्ञा गर्दै विकास निर्माणसँग सम्बन्धित निर्माण व्यवसायी, उद्योग मन्त्रीलाई बेवास्ता गर्दै उद्योगी व्यवसायीसँग पनि भेट गरेका थिए । सोमबार राजदूतसँग भेट्दा परराष्ट्रमन्त्री शिशिर खनाललाई पनि छुटाएका नछ् । यसले प्रधानमन्त्री बालेन पुराना सत्ताका प्रधानमन्त्रीहरूले जस्तै हर क्षेत्रका व्यक्तिसँग एकल भेटवार्ता गरेर एकल शक्ति आर्जनमा केन्द्रीत हुन लागेका संकेत गरेका छन् । यसअघि बालेन निकटका व्यक्तिहरूले प्रधानमन्त्री बालेनले सामूहिक बाहेक कसैलाई पनि एकल नभेट्ने बताउने गरेका थिए ।