काठमाडौं, एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड अक्वायरिङ सेवा उपलब्ध गराउने भएको छ ।
बैंकका अनुसार अब डिस्कभर नेटवर्कअन्तर्गतको रुपैयाँ कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि बैंकका एटीएम तथा पीओएस (प्वाइन्ट अफ सेल) टर्मिनलमार्फत प्रयोग गर्न सकिनेछ । बैंकले हाल विभिन्न कार्ड स्किममार्फत डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको अवस्थामा यो पहलले राष्ट्रिय कार्ड प्रणालीको प्रवद्र्धन गर्नुका साथै देशको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालपे कार्ड राष्ट्रिय भुक्तानी स्विच (नेसनल पेमेन्ट स्विच) अन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय कार्ड प्रणाली हो। यो कार्ड नेपालभित्र राष्ट्रिय भुक्तानी स्विचमार्फत तथा अन्तर्राष्ट्रियरूपमा डिस्कभर नेटवर्कमार्फत प्रयोग गर्न सकिन्छ । नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने व्यवस्था भएको छ । साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर नेटवर्कका साझेदार कार्डहरू पनि नेपालमा सहज रूपमा प्रयोग गर्न सकिने भएको छ ।
एनसीएचएलका अनुसार हालसम्म नेपालपे कार्ड प्रणालीमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् भने कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । हाल सातवटा बैंक तथा वित्तीय संस्थाले नेपाल पे कार्ड जारी गर्न थालेका छन् भने ११ वटा बैंक तथा वित्तीय संस्थाले अक्वायरिङ सेवा सञ्चालन गरिरहेका छन् । आगामी दिनमा यसमा आबद्ध संस्थाको संख्या थप विस्तार हुने अपेक्षा गरिएको छ । एनआईसी एसिया बैंकले हाल देशभरका लाखौं ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले पछिल्लो समय डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै आन्तरिक प्रणाली र ग्राहक सेवामा प्रविधिमैत्री सुधारलाई तीव्रता दिएको जनाएको छ । हाल बैंकका देशभर तीन सय १६ वटा शाखा, एक सय तीनवटा विस्तारित काउन्टर, ३३ शाखारहित बैंकिङ सेवा केन्द्र तथा छ सय चारवटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।