पोसाक शरीर ढाक्ने माध्यम मात्रै होइन । पोसाकले व्यक्ति कुन वर्गबाट आएको हो, कुन संस्कृतिको प्रतिनिधित्व गर्छ र कुन राजनीतिक सन्देश दिन खोजिरहेको छ भन्ने कुरा पनि बोलिरहेको हुन्छ । त्यसैले विश्वका धेरै राजनीतिक आन्दोलनहरूमा झण्डा र नाराजस्तै पोसाक पनि राजनीतिक अभिव्यक्तिको माध्यम बनेको छ । तत्कालीन एकता केन्द्र र पछि माओवादीको वैधानिक मोर्चा संयुक्त जनमोर्चा, नेपालका तर्फबाट २०४८ सालमा रोल्पाबाट निर्वाचित सांसद बर्मन बुढा संसद भवनमा चप्पलसँगै आफ्नै ठाउँ र जातिको मौलिक पोसाक कछाड लगाएर प्रवेश गरे । काठमाडौंको राजनीतिकवृत्तमा त्यो दृश्य असामान्य थियो ।
धेरै सांसद दौरा–सुरुवाल, कोट, केही सर्ट–पाइन्ट र कतिपय पश्चिमी शैलीको सुटमा सजिएका हुन्थे । तर बर्मन बुढाले संसद्मा प्रवेश गर्दा कुनै औपचारिक पोसाकको आवश्यकता महसुस गरेनन् । उनले आफ्नो पहिचान, आफ्नो भूगोल र आफ्नो वर्गलाई नै संसद्भित्र लिएर पुगे ।त्यो पोसाकको विषय मात्रै थिएन । त्यो नेपालको संसदीय राजनीतिमा सीमान्तकृत समुदाय, किसान र श्रमिक वर्गको उपस्थितिको उद्घोष थियो । संसद् अभिजात, शिक्षित र राज्यसत्तासँग जोडिएका मानिसहरूको संस्था मात्र होइन, गाउँका जनताको पनि संस्था हो भन्ने सन्देश त्यसले दिएको थियो ।
बर्मन बुढासँगै रोल्पाबाट निर्वाचित भएका कृष्णबहादुर महरा सामान्य सर्ट–पाइन्टमै संसद् पुगे । त्यसबेला जनमोर्चाभित्र कुनै अनिवार्य पोसाक थिएन । कसैले टाई लगाएन । कसैले विशेष औपचारिक सुट पनि लगाएन । प्रतिनिधिसभा र राष्ट्रियसभामा पुगेका जनमोर्चाका ११ जना प्रतिनिधिहरूले आफ्नो सामाजिक जीवनबाट अलग देखिने कुनै अभिजात शैली अपनाएनन् । उनीहरू जनताबाट आएका प्रतिनिधिका रूपमा नै प्रस्तुत भए ।पार्टी संस्थागत निर्णयका आधारमा चल्थ्यो । विदेश भ्रमणका क्रममा पार्टीको निर्णय उल्लंघन गरेका कारण तत्कालीन सांसद लीलामणि पोखरेललाई अनुशासनको कारबाही गरिएको थियो । त्यहाँ एक प्रकारको सामूहिकता थियो ।
भूमिगत जीवनबाट खुला राजनीतिमा आएको पार्टीले अन्तरिम व्यवस्थापिका–संसदमा प्रवेश गर्दा आफ्ना शीर्ष नेताहरूलाई एउटै खैरो रङको सुटमा प्रस्तुत ग¥यो । प्रायः सबै नेताको पोसाक उस्तै थियो । त्यो औपचारिकता मात्रै थिएन । त्यसले अनुशासन, सामूहिक नेतृत्व र संस्थागत राजनीतिक शक्तिको सन्देश दिइरहेको थियो । लामो सशस्त्र संघर्षपछि राज्यसँग औपचारिक संवादमा आएको आन्दोलनले आफूलाई नयाँ राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरिरहेको थियो ।
तर, त्यसपछि अर्को परिवर्तन आयो । संविधानसभा निर्वाचनपछि प्रचण्ड संसद्मा भादगाउँले टोपी र टाई लगाएर प्रवेश गरे । प्रधानमन्त्रीका रूपमा शपथ लिँदा पनि उनको यही पहिरन चर्चाको विषय बन्यो । पार्टीभित्र त्यसबेला एउटा रोचक छलफल भएको धेरै नेताहरूले स्मरण गर्ने गरेका छन् । छलफलको सार थियो, नेपाली पहिचान झल्काउन टोपी लगाउने तर आधुनिक, अन्तर्राष्ट्रिय र कूटनीतिक राजनीतिक संस्कृतिसँग मेल खान टाई पनि लगाउने । अर्थात्, टोपीले राष्ट्रिय पहिचान बोल्ने र टाईले आधुनिक राज्य सञ्चालनको औपचारिकता ।यही प्रसंगसँग जोडिएको एउटा रोचक घटना पनि माओवादी वृत्तमा बेलाबेला सुनाइन्छ । नेता हितराज पाण्डेले मन्त्रीको शपथग्रहणका बेला हतारहतार प्रचण्डलाई भेट्न गएर आफू टोपी–टाई लगाएर जाने कि सामान्य पहिरनमै जाने भनेर आदेश लिन गएका भनेर प्रचण्ड सचिवालयमा व्यंग्य गरिन्थ्यो । वास्तवमा पाण्डेले पोसाक व्यक्तिगत रुचिको विषय मात्र होइन, राजनीतिक सन्देशको विषय पनि हो भन्ने देखाउन खोजेको देखिन्छ ।
विश्व राजनीतिमा यस्ता उदाहरण प्रशस्त छन् । भारतमा महात्मा गान्धीले बेलायती शैलीको सुट त्यागेर धोती अपनाउनु औपनिवेशिक शासनविरुद्धको सांस्कृतिक विद्रोह थियो । दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले राष्ट्रपतिको हैसियतमा पनि रङ्गीन ’माडिबा सर्टझलाई औपचारिक पोसाकको मान्यता दिए । माडिबा नेल्सन मण्डेलाको घरमा आदर र स्नेहले बोलाउने नाम हो । न्युजिल्यान्डमा माओरी समुदायका सांसदहरूले संसदको ड्रेस कोड नै परिवर्तन गराए । यो विवाद सन् २०२१ मा पुरुष सांसदले अनिवार्य टाई लगाउनुपर्ने नियमका कारण सुरु भएको थियो । माओरी सांसद रविरी वैतीतीले टाईलाई ‘औपनिवेशिक पासो’ भन्दै त्यसको सट्टा परम्परागत माओरी गहना लगाएपछि उनलाई संसदबाट निकालियो । व्यापक बहसपछि संसद्ले टाईको अनिवार्यता खारेज गर्दै सांस्कृतिक पोसाकलाई मान्यता दिएर विवाद टुङ्ग्यायो । यी सबै घटनाले पोसाक राजनीतिक शक्ति, सांस्कृतिक पहिचान र विचारधाराको दृश्य भाषा हो भन्ने पुष्टि गर्छन् ।
पोसाकलाई सामाजिक हैसियत र सांस्कृतिक पुँजीको अभिव्यक्तिका रूपमा पनि व्याख्या गरिन्छ । मानिसले लगाउने कपडाले उसको सामाजिक स्थानबारे संकेत गर्छ । इटालीका माक्र्सवादी चिन्तक एन्टोनियो ग्राम्सीले शासक वर्गले संस्कृति, भाषा र जीवनशैलीमार्फत आफ्नो प्रभुत्व कायम गर्ने तर्क दिएका छन् । यही दृष्टिकोणबाट हेर्दा पश्चिमी सुट र टाई लामो समयसम्म औपनिवेशिक तथा शासक वर्गको सांस्कृतिक प्रभुत्वको प्रतीक बने ।यही कारणले धेरै जनआन्दोलनहरूले आफ्नो मौलिक पोसाकलाई राजनीतिक प्रतिरोधको माध्यम बनाए । नेपालको कम्युनिस्ट आन्दोलनको यात्रा पनि यही रूपान्तरणको अभियान हो । जनमोर्चाको समयमा बर्मन बुढाको कछाड र चप्पलले गाउँ, किसान र सीमान्तकृत समुदायको प्रतिनिधित्व गथ्र्यो । रोल्पाकै सांसद वर्षमान पुनले लगाउन सक्दा उनीभन्दा हुनेखाने पूर्व प्रधानपञ्च बर्मन बुढाले टाई–सुट किन्न नसकेर नलगाएका होइनन् । त्यो सचेत राजनीतिक छनौट थियो ।शान्ति प्रक्रियामा माओवादीको एउटै खैरो सुटले आन्दोलनको संस्थागत रूपलाई देखायो । त्यसपछि प्रचण्डको टोपी–टाईले राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रिय राजनीतिक औपचारिकताबीच सन्तुलन खोज्ने प्रयास गर्यो । त्यो परम्परागत नेपाली पहिचान र आधुनिक राज्यसत्ताको संस्कृतिको मिश्रित प्रतीक भनेर कतिपयबाट विश्लेषण भयो ।

तर समयसँगै त्यो मिश्रित सांस्कृतिक प्रतीक पनि बदलिँदै गयो । आन्दोलनबाट आएको नेतृत्व विस्तारै राज्यसत्ताको स्थापित राजनीतिक–प्रशासकीय संस्कृतिमा घुलमिल हुँदै गयो । सार्वजनिक जीवनमा देखिने पहिरन, जीवनशैली र उपभोगका प्रतीकहरू पनि परिवर्तन हुन थाले । टोपी–टाईको मिश्रित पहिचानबाट यात्रा गर्दै नेतृत्व क्रमशः महँगा ब्रान्डका पोसाक, गुच्ची ब्याग, महँगा घडी र विलासी जीवनशैलीसँग जोडिएको देखिन थाल्यो । यसलाई धेरैले व्यक्तिगत रुचिको परिवर्तनभन्दा पनि वर्गीय रूपान्तरणको संकेतका रूपमा व्याख्या गरेका छन् ।सबैभन्दा बढी वामआन्दोलनमा एउटा महत्वपूर्ण प्रश्न उठेको छ, के आन्दोलन सत्तामा पुगेपछि आफ्नो मौलिकता जोगाउन सक्छ कि राज्यसत्ताको परम्परागत, स्थापित संस्कृतिले आन्दोलनलाई नै आफ्नो ढाँचामा ढालिदिन्छ ?
बर्मन बुढाको कछाड र चप्पलले संसदमा गाउँ, किसान र सीमान्तकृत वर्गको उपस्थिति स्थापित गरेको थियो । प्रचण्डको टोपी–टाईले सुरुमा परम्परा र आधुनिकताको मिश्रित राजनीतिक संस्कृतिको प्रतिनिधित्व भन्दै नेतृत्वको सामाजिक–सांस्कृतिक र वर्गीय उत्थान नै गर्यो । यस अर्थमा बर्मन बुढादेखि प्रचण्डसम्मको पोसाकको यात्रा कपडाको परिवर्तन मात्र होइन, आन्दोलन, राज्यसत्ता र वर्गीय यात्राको इतिहास पनि हो । त्यसैले राजनीतिमा पोसाकलाई सामान्य विषय ठान्न मिल्दैन । संसद्मा लगाइने एउटा टोपी, एउटा टाइ, एउटा कछाड वा एउटा भोटोले कहिलेकाहीँ सयौँ भाषणभन्दा बढी राजनीतिक अर्थ बोकेको हुन्छ । इतिहासमा धेरैपटक विचारहरू भाषणबाट होइन, प्रतीकहरूबाट जनतासम्म पुगेका छन् । नेपालमा बर्मन बुढादेखि प्रचण्डसम्मको पोसाक पहिरन त्यही प्रतीकात्मक राजनीतिक इतिहासको एउटा महत्वपूर्ण अध्याय हो ।