काठमाडौं, पोखरा महानगरपालिकाले रैथाने बाली कोदोको उत्पादन बढाउन न्यूनतम समर्थन मूल्य लागू गरेको छ । बजारमा कोदोको माग बढ्दै गए पनि उत्पादन घट्दै गएकाले कृषकलाई खेतीतर्फ आकर्षित गर्न यो व्यवस्था लागू गरिएको महानगरले जनाएको छ ।
दोस्रो कोदो महोत्सवको अवसरमा महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगर क्षेत्रमा करिब तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको र वार्षिक करिब चार हजार आठ सय मेट्रिकटन उत्पादन हुने अनुमान रहेको जानकारी दिए । पछिल्लो समय बजारमा कोदोको माग बढ्दै गए पनि उत्पादन घट्दो क्रममा रहेकाले कृषकलाई प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको उनले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवद्र्धन र खेती विस्तार आजको आवश्यकता भएको बताए । उनले उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत कृषकको आय बढाउन महानगरले विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै स्थानीय उत्पादनको उपयोग र उपभोग बढाएर खाद्य सुरक्षासँगै कृषि आत्मनिर्भरतामा जोड दिए ।
महोत्सवमा उत्कृष्ट कोदो उत्पादक कृषकलाई सम्मानसमेत गरिएको थियो । १७ रोपनीमा कोदो खेती गरेका पोखरा–२२ का खगी घर्ती, ११ रोपनीमा खेती गरेका पोखरा–२० का दुर्गाबहादुर सुनार, १० रोपनीमा खेती गरेका पोखरा–२८ का शोभा भण्डारी तथा नौ रोपनीमा खेती गरेका पोखरा–२३ का होमबहादुर गुरुङलाई नगदसहित सम्मान गरिएको हो । महोत्सवमा कोदो रोप्ने प्रतियोगिता, कोदोबाट बनेका परिकार, स्थानीय कृषि उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनी पनि राखिएको थियो ।