काठमाडौं, कर्मचारी सञ्चय कोषको प्रशासक नियुक्ति प्रक्रिया निर्णायक चरणमा पुगेर पेचिलो बनेको छ । यसका प्रतिस्पर्धीमध्ये हालका कायममुकायम प्रशासक जीवन कुमार कटवाल उमेरहदको कारण स्वतः अवकाश हुने अवस्थामा पुगेका छन् । तर उनले शक्तिकेन्द्र धाउने र कर्मचारी संघ–संगठन उचाल्न थालेपछि नियुक्ति नै पेचिलो बनेको हो ।
कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार प्रशासक हुन कोषमा कार्यरत बहालवाला कर्मचारी हुनुपर्ने प्रावधान छ । सरकारले समेत यिनै जीवन कट्वाललाई प्रशासक नियुक्ति गर्न लागिरहेको स्रोतको दाबी छ । झण्डै छ खर्ब पुँजी रहेको यस संस्थाले सही नेतृत्व पाउन सकेको खण्डमा देशका ऊर्जा, पर्यटन तथा अन्य पूर्वाधारको क्षेत्रमा कायापलट गर्न सक्ने र आन्तरिक पुँजी परिचालनमार्फत सरकारको उद्देश्य पनि हासिल गर्न सक्ने वित्तीय विश्लेषकहरू बताउँछन् ।
कर्मचारी संघमा आबद्ध हुँदै ११ तहसम्म पुगेका निज कट्वालले दैनिक कार्य सञ्चालनका कार्यबाहेक कोषलाई ठोस टेवा पुग्ने खालका कामहरू र निर्णयहरू गर्न नसकेको कोषमा कार्यरत उच्च तहका कर्मचारीहरू बताउँछन् । काण्डै काण्डमा मुछिएका यिनै कट्वाललाई प्रशासकमा नियुक्त गर्ने सरकारको तयारी देख्दा ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने नेपाली उखान चरिचार्थ हुने पक्का देखिन्छ । यसअघि पनि गम्भीर त्रुटि गर्दै आएको अर्थ मन्त्रालयले अहिले पनि नगर्ला भन्न सकिँदैन । यसले स्वयम् अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्य क्षमतामा पनि गम्भीर प्रश्न उठ्ने निश्चित छ ।