पोखरा । कास्कीको किम्रुङखोलामा पहिरो खसेर पानी थुनिएपछि मोदीखोला तथा त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ। कास्की प्रहरीका अनुसार मोदीखोलामा मिसिने किम्रुङखोला करिब ६ घण्टादेखि थुनिएको सूचना आएको छ। खोला थुनिएको स्थानमा बनेको अवरोध फुटेमा एक्कासि ठूलो बाढी आउन सक्ने जोखिम रहेकाले प्रहरीले प्रभावित क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराएको छ।
प्रहरीले किम्रुङखोलाबाट आएको बाढीले पोखराबाट घान्द्रुक जाने सडकखण्डअन्तर्गत मोदीखोला क्षेत्रमा यसअघि नै दुईवटा होटल बगाइसकेको छ। थुनिएको पानी एकैपटक फुटेमा मोदीखोलामा ठूलो बाढी आउन सक्ने र त्यसको असर नयाँपुल, वीरेठाँटी हुँदै पर्वत, स्याङ्जा र पाल्पासम्मका नदी किनारका बस्तीमा पर्न सक्ने प्रहरीको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागले समेत सम्बन्धित प्रशासनलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्वतले पनि किम्रुङखोला थुनिएको र बाँध फुटेमा मोदीखोलामा ठूलो बाढी आउन सक्ने सूचनापछि नदी किनारका बस्तीका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको जनाएको छ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार किम्रुङखोला अन्नपूर्ण साउथ क्षेत्रबाट बग्दै झिनुमा पुगेपछि मोदीखोलामा मिसिन्छ। उक्त क्षेत्र अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्छ।
स्थानीयका अनुसार किम्रुङखोलामा थुनिएको पानीमध्ये केही घटेको छ। माथिल्लो लेकतर्फ खोला थुनिएको हुन सक्ने अनुमान गरिएको छ। रातिको समयमा घटनास्थलमा पुगेर अवस्थाबारे यकिन गर्न कठिन रहेकाले गाउँपालिकाले समेत स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।
यसै वर्षायाममा किम्रुङखोलामा आएको बाढीले वीरेठाँटी र नयाँपुल क्षेत्रमा क्षति पुर्याइसकेको छ। किम्रुङखोला पर्वत हुँदै कालीगण्डकी नदीमा मिसिन्छ। माथिल्लो क्षेत्रमा थुनिएको पानी एकैपटक फुटेमा त्यसको प्रभाव मोदीखोला हुँदै तल्लो तटीय क्षेत्रसम्म पर्न सक्ने भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।