काठमाडौं, नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’को कार्यान्वयन तथा हरित वित्तको प्रवर्द्धन गर्ने उद्देश्यले बेस्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स’ निक्षेप योजना ल्याएको छ ।
यस निक्षेप योजनाअन्तर्गत हरेक खातावालाको तर्फबाट एउटा बिरुवा रोप्ने व्यवस्था संस्थाले मिलाएको छ । यसै योजनाअन्तर्गत सामुदायिक वन दिवस २०८३ को अवसर पारेर ‘सामुदायायिक वनको अबको बाटो युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने यस वर्षको नारालाई आत्मसात गर्दै बेष्ट फाइनान्सको अग्रसरतामा महत गाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्य तथा जिल्ला वन कार्यालय ललितपुरको सहयोगमा गोदावरी नगरपालिका वडा नं. ५, ललितपुरमा वृक्षारोपण गरिएको छ ।
रोपिएका बिरुवाको नियमित गोडमेल गर्ने, मलजल तथा संरक्षण गर्ने, कुनै बिरुवा मरेमा उक्त स्थानमा अर्को बिरुवा रोप्नेतथा रोपिएका बिरुवाहरूको कम्तीमा पाँच वर्षसम्म संरक्षण र व्यवस्थापन गर्ने कार्य महत गाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समितिले गर्ने व्यवस्था मिलाइएको छ । यस कार्यक्रमअन्तर्गत महत गाउँ सल्लाघारी सामुदायिक वनको सेक्टर ए, बी, सी क्षेत्रमा छ सयवटा बिरुवा रोपिएको छ । यस अभियानले जैविक विविधता संरक्षण, कार्बन अवशोषण वृद्धि, जलाधार संरक्षण, वन क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा सानो भए पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बेस्ट फाइनान्स कम्पनी लिमिटेडका अध्यक्ष प्रा.डा. रामजी गौतम, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती, फाइनान्सका कर्मचारीहरू, महत गाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्रीमती रञ्जिता महत तथा कार्यसमिति सदस्यहरू, जिल्ला वन कार्यालय, ललितपुरका जिल्ला वन अधिकृत सन्जोग श्रेष्ठ, बज्रबाराही सब–डिभिजन वन कार्यालयका वन अधिकृत शान्त कुमार श्रेष्ठ, गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष, लेले प्रहरी कार्यालय, ससस्त्र प्रहरी, अमरक्रान्ति सेकेन्डरी इङलिस स्कुल तथा सरस्वती विद्यालयका विद्यार्थीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक वनका उपभोक्ताहरू तथा स्थानीय समुदायसमेत गरेर एक सय २० जनाभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
हरित वित्त, वातावरण संरक्षण र सामुदायिक सहभागितालाई एकै सूत्रमा बाँध्ने यस पहलले ‘एक बचत, एक बिरुवा, हरित भविष्य‘ भन्ने सोचलाई व्यवहारमा उतार्दै नेपालमा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास बेस्ट फाइनान्सले लिएको
छ ।