काठमाडौं, गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ का शीर्ष ६ फाइनलिस्ट घोषणा गरिएको छ । ग्लोकल प्रालिले मंगलबार शीर्ष ६ फाइनलिस्ट सार्वजनिक गरेको हो ।
आयोजकले सार्वजनिक गरेको सूचीमा सातै प्रदेशबाट आएका किशोरकिशोरीमध्ये प्रविधि, जलवायु, वातावरण, नागरिक सहभागिता तथा सामाजिक न्यायका क्षेत्रमा काम गरिरहेका युवा छनौट भएका छन् । फाइनलिस्टमा विराटनगरका १५ वर्षीय अर्जुन चौधरी, अछामका १९ वर्षीय अटल देव ढकाल, पोखराकी १८ वर्षीया जास्मिन बोहोरा, सुर्खेतका १७ वर्षीय किशोर न्यौपाने, बर्दिबासका १७ वर्षीय मन्जिल बस्नेत र नवलपुरकी १९ वर्षीया सब्नम सुनार छन् । छनौटमा परेका चौधरी साइबर सुरक्षा अनुसन्धान तथा प्रविधि क्षेत्रमा सक्रिय छन् । उनले आर्णिको ह्याक क्लब स्थापना गरेको र उक्त समुदायमा चार सयभन्दा बढी सक्रिय सदस्य रहेको आयोजकले जनाएको छ । ढकाल जलवायु न्याय, हिमाली समुदाय, जलवायु वित्त र विश्वव्यापी जलवायु नीतिमा युवा सहभागिताका क्षेत्रमा सक्रिय छन् । बोहोरा कृत्रिम बुद्धिमत्ता, वातावरणीय प्रविधि र अन्तरिक्ष शिक्षामा काम गर्दै आएकी छन् भने न्यौपाने कर्णालीमा जलवायु सचेतना र वातावरण संरक्षणका अभियानमा सक्रिय छन् ।
यस्तै बस्नेतले विद्यार्थी र स्थानीय सरकारबीच समन्वय गराउने उद्देश्यले युथ सिभिक लन्चप्याड स्थापना गरेका छन् । सुनार बालिका नेतृत्व, लैंगिक समानता, महिनावारी स्वास्थ्य तथा सामाजिक न्यायका विषयमा वकालत गर्दै आएकी छन् । फाइनलिस्टहरू अगस्ट २७ देखि ३१ सम्म सेल्फ–कम्पिटेन्सी वर्कशपमा सहभागी हुनेछन् । उनीहरूले विभिन्न कर्पोरेट हाउस तथा साझेदार संस्थाको भ्रमण, उद्योग विज्ञसँग अन्तरक्रिया र नेटवर्किङ गर्ने कार्यक्रम छ । अगस्ट ३१ मा जुरीले उनीहरूको व्यक्तिगत अन्तरवार्ता लिनेछ ।
विजेताको घोषणा तथा सम्मान समारोह सेप्टेम्बर १, २०२६ मा ललितपुरमा हुनेछ । सोही कार्यक्रममा नेपालसहित भारत, भुटान, श्रीलंका र बंगलादेशका राष्ट्रिय विजेतालाई समेत सम्मान गरिनेछ । ग्लोकल टिन हिरो सन् २०१५ मा काठमाडौं उपत्यकाबाट सुरु भएको कार्यक्रम हो । यस वर्षदेखि कार्यक्रमको क्षेत्रीय विस्तार गर्दै भारत, भुटान, श्रीलंका र बंगलादेशलाई समेत समेटेर साउथ एसियन ग्लोकल टिन हिरो २०२६ आयोजना गर्न लागिएको छ । कार्यक्रम ग्लोकल प्रालिको आयोजनामा र गोल्छा ग्रुपको शीर्षक साझेदारीमा सञ्चालन भइरहेको छ ।