काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको चीनमा निर्यात बढाउन सकिने बताएका छन् । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भएको भेटवार्तामा उनले चिया, कफी, जडीबुटी तथा हर्बल उत्पादन, हस्तकला, फेल्ट, हस्तनिर्मित कागज, तयारी पोसाक र सिलिङ बाउललगायत नेपाली उत्पादनको चीनमा निर्यात बढाउन सकिने बताएका हुन् ।
नेपाल–चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन व्यापार, लगानी र आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘चीनसँग आयातको तुलनामा नेपालको निर्यात नगन्य छ । यो अवस्थामा नेपालको निर्यात व्यापार बढाउने ढंगले चिनियाँ पक्षको सहयोग आवश्यक छ । अब हाम्रो प्राथमिकता प्रदर्शनीमा सहभागिता मात्र नभई वास्तविक अर्डर, दीर्घकालीन खरिदकर्ता र व्यावसायिक साझेदारी निर्माण गर्ने हुनुपर्छ ।’
अध्यक्ष श्रेष्ठले चिनियाँ पर्यटकको आगमन बढाउन पोखरा र भैरहवा अन्तरर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सम्पर्क विस्तारका लागि पनि चीनसँंग आग्रह गरे । यस्तै नेपाल एलडीसीबाट स्तरोन्नतिको चरणमा प्रवेश गरिरहेको सन्दर्भमा निर्यात विविधीकरण, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र गुणस्तरीय वैदेशिक लगानी आकर्षित गर्न चीनले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो । चीनसँगको सहकार्यबाट नेपालको उत्पादन क्षमता वृद्धि गर्दै क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृंखलामा जोडिन सकिने उनले बताए ।
चिनियाँ राजदूत झाङ माओमिङले नेपाल–चीन सम्बन्धलाई आर्थिक तथा व्यावसायिक क्षेत्रमा थप गहिरो बनाउनुपर्ने बताए । नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्न तथा दुई देशका व्यवसायीबीच प्रत्यक्ष सम्पर्क विस्तारमा सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए । चिनियाँ राजदूत झाङ माओमिङले नेपाल–चीन सम्बन्धलाई परम्परागत व्यापारिक सम्बन्धभन्दा माथि उठाउँदै लगानी, प्रविधि, संयुक्त उद्यम, निर्यात, पर्यटन तथा प्रत्यक्ष व्यावसायिक सहकार्यमा आधारित दीर्घकालीन आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । चीनमा प्रतिस्पर्धात्मक बजार रहेकोले नेपाली वस्तु निर्यात गर्दा गुणस्तर, ब्रान्डिङ र प्याकेजिङ तथा परिमाणमा विशेष ध्यान दिन नेपाली व्यवसायीहरूलाई आग्रह गर्दै उनले नेपाली व्यवसायीहरूको क्षमता अभिवृद्धिमा सहयोग गर्न आफूहरू तयार रहको बताए ।