काठमाडौं, पाकिस्तानको ब्रड हिमाल आरोहणका क्रममा नेपालीमूलका चर्चित पर्वतारोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको छ । गत बिहीबार उक्त हिमाल आरोहण सुरु गरेका उनीहरूको हिम पहिरोका कारण मृत्यु भएको हो ।
आरोहणकै क्रममा पुर्जासहितको टोलीसँग सम्पर्कविच्छेद भएको थियो । टोलीमा छ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही थिए । नेपाली टोलीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए । अन्य पर्वतारोहीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका थिए ।
‘ब्रड पिकमा आएको हिमपहिरोमा परी पुर्जालाई हामीले गुमाएका छौँ’, उनकै कम्पनी एलिट एक्सपिडिसनले सामाजिक सञ्जालले उल्लेख गरेको छ, ‘हामीले अन्य सदस्यहरु पनि जीवित नरहेको विस्वस्त सूचना प्राप्त गरेका छौँ ।’ पुर्जाको टोली हिम पहिरोमा परेको खबरसँगै पाकिस्तानी सेनासहितको सक्रियतामा उद्धार टोली खटिएको थियो । पुर्जा नेपालको म्याग्दीमा जन्मेका थिए । उनले बेलायती सेनामा समेत काम गरेका थिए । उनीसँग बेलायतको नागरिकता रहेको बताइएको छ ।