भद्रपुर (झापा), झापामा वर्षायाम सुरु भएपछि जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण बढ्दै गएको छ । मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएपछि जिल्लामा सङ्क्रमित भएका १० जना मध्ये तीन पुरुष र दुई महिलागरी पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म मेचीनगरका चार, बिर्तामोडका दुई, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक र अर्जुनधाराका एक जनामा जेई सङ्क्रमण पुष्टि भएको छ । बाँकी रहेका पाँचजना सङ्क्रमितमध्ये दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले सङ्क्रमितमध्ये एक जना सात महिनाका बालक रहेको जानकारी दिएका छन् ।
जनस्वास्थ्य निरीक्षक श्रेष्ठले लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधरणलाई आग्रह गरेका छन् ।