काठमाडौं, सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित परिवार र उनको व्यावसायिक साझेदार समेतको सम्पत्ति रोक्का भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीमाथिको अनुसन्धान तीव्र बनाएसँगै अग्रवाल, उनका परिवारका सदस्य तथा उनीसँग साझेदारीमा रहेका व्यक्तिहरूको बैंक खाता, सेयर खातालगायतका सम्पत्ति रोक्का गरिएको हो ।
स्रोतका अनुसार अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले अग्रवालसँग प्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिहरूको समेत खाता रोक्का गरिएको हो । अग्रवाल यसअघि पनि सेयर कारोबारमा विवादमा पर्दै आएका थिए । २०८२ पुस ४ गते सीआईबीले उनलाई धितोपत्रसम्बन्धी ऐन, २०६४ विपरीत भ्रामक सूचना सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो । सीआईबीका अनुसार अग्रवालले विभिन्न टिएमएस प्रयोगकर्ता तथा आफन्तसँग सम्बन्धित संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी आपसी खरिद–बिक्री गरेको र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा प्रभावित पारेको आरोप थियो ।
धितोपत्र बोर्डको प्रतिवेदनमा उनलाई झुटो कारोबार तथा मूल्य प्रभावित पार्ने कसुर गरेको उल्लेख थियो । सीआईबीको आरोपअनुसार यस्तो कारोबारबाट उनले ४९ लाख १९ हजार आठ सय ६५ रुपैयाँ गैरकानुनी लाभ लिएको अनुसन्धानको क्रममा खुलेको थियो । पक्राउपछि अग्रवालले सोही रकमबराबरको धरौटी बुझाएर रिहा भएका थिए ।