काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ परेका छन् । उनलाई बिहीबार काठमाडौंको बानेश्वरस्थित जनता टेलिभिजनको कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो । पौडेललाई चेक बाउन्ससम्बन्धी मुद्दामा पक्राउ गरिएको जनाइएको छ । उनीविरुद्ध जनता टेलिभिजनका दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै मुद्दा दायर गरेका थिए ।
पूर्वकर्मचारीहरूले आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै यसअघि पनि जनता टेलिभिजनमा आन्दोलन गर्दै आएका थिए । पारिश्रमिक तथा अन्य आर्थिक दायित्वको विषयलाई लिएर कर्मचारी र व्यवस्थापनबीच विवाद रहँदै आएको थियो । चेक बाउन्स मुद्दामा पक्राउ परेका पौडेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायमा उपस्थित गराउने तयारी गरिएको छ ।