काठमाडौं, सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ मागेको छ । उनीहरु दुवैसँगै ललिता निवास जग्गा प्रकरणमा लिखित जवाफ माग गरिएको हो । २०७६ सालमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासबाट लिखित जवाफ माग्ने आदेश भएको हो ।
रिट निवेदकले उनीहरुलाई पनि यस प्रकरणमा प्रतिवादी बनाउनुपर्ने जिकिरसहित सर्वोच्चमा माग गरेका थिए । अख्तियारले २०७६ माग २२ गते १७५ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । तर त्यसमा दुई प्रधानमन्त्री र तत्कालीन मुख्यसचिव लिलामणि पौडेल छुटाइएका छन् । त्योसँगै माघ २९ गते रिट दायर भएको थियो । अख्तियारले छानीछानी कसैलाई उन्मुक्ति दिनु गैरकानुनी रहेको निवेदकको दाबी छ ।