गएको साउन ६ गते जननायक बीपीको ४४औं स्मृति दिवस थियो । त्यो दिन गिरिजा लिगेसीको देउवा कांग्रेसका एआई उत्तराधिकारहरू पूर्णबहादुर खड्का, गगन थापा, कृष्ण सिटौला, विजय गच्छदार, शेखर कोइराला आदि इत्यादिहरूले आ–आफ्ना गिरोहका छुट्टाछुट्टै स्मृति कार्यक्रममा एक अर्कालाई आमाचकारी गाली गरेर आफू बीपी लिगेसीको आधिकारिक उत्तराधिकार दाबी गरे । त्यस्ता दाबीको आजको राजनीतिक पृष्ठभूमिमा खोटो सिक्का जतिको पनि कुनै मूल्य नभएकाले त्यसमा प्रतिक्रिया गरिरहनु केही अर्थ भएन । तीनै दाबेदारहरूमध्येका एक पीएच्डी डिग्रीधारी कांग्रेस नेता मिनेन्द्र रिजाल र पत्रकार दिलभूषण पाठकबीच बीपीको ‘मेलमिलाप नीति’को तथ्य तात्पर्य विषयक छलफल बारे भने अलिकति अन्धकारमा प्रकाश पार्नु आवश्यक भएको छ ।विगतमा मैले २५ वर्ष सक्रिय पत्रकारिता गर्दा दिलभूषणको नाम कतै जानकारीमा थिएन ।
हिल्टन होटल खरानी तुल्याउन र देउवापुत्र जयवीर देउवालाई आजको हालतमा ल्याइपु¥याउन निर्णायक कारक बनेका चर्चित १२ भाइ पत्रकारमध्येका एक भन्ने जब थाहा पाएँ त मलाई मात्र होइन सामाजिक सञ्जाल प्रयोगकर्ता सबैलाई थप चिनारी आवश्यक परेन । नाभी आन्द्राभुँडी सबै छर्लङ्ग भइहाल्छ । खास गरेर जनमत सङ्ग्रह यता र बहुदल आइसकेपछि नेपाली पत्रकारिताकोे मूल चरित्र जुटाउनु नरहेर फुटाउनु मात्र रहेको स्वयं पंक्तिकार भुक्तभोगी छ । सामान्य दुर्घटनावस नेपाली कांग्रेसको केन्द्रीय अफिस जमलमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराइ, गिरिजाप्रसाद कोइरालालगायत दर्जनौं केन्द्रीय नेताहरू समक्ष मेरो र शैलजा आचार्य बीच भएको ‘चप्पल हानाहान’ प्रकरणलाई नेपाली पत्रकारिता जगतले उडाउन र मिलन बिन्दु खोज्न नदिन यति धेरै स्यालहुइया कुकुर भुकाइ गरिदिए कि शैलजा र मेरो पुरानो सौहार्दता विश्वास पुनः कायम हुन १४ वर्ष लाग्यो । र जुन समय हामी सौहार्दता र समझदारीको चरणमा आइपुगेका थियौँ, शैलजाले ‘मन्द विष’को शिकार भएर स्वर्गतर्फको पाइला उचालीसकेकी रहिछिन् । त्यो समय एक जना प्रदीप गिरि बाहेक नरहरि आचार्यलगायत सारा कांग्रेसी प्रा.डा. बौद्धिक जमात गिरिजालाई नेहरू र सुजातालाई इन्दिरा गान्धीसँग तुलना गर्न पत्रकार गुहारीरहेका भेटिन्थ्ये । १२ भाइ प्रवृत्ति चरित्र पत्रकार जगतको त्यो ‘सुजाता कोइरालालाई इन्दिरा गान्धीसँग तुलना गरेको’ समाचार ब्यानर, ब्रेकर, हाइलाइट हुने गर्दथ्यो ।
त्यस बखतदेखि नेता–पत्रकारको जोडिन थालेको नाभी आजको मितिमा आइपुग्दा सम्म आन्द्राभुँडीसमेत नवजागरणमा छर्लङ्ग हुन थालेको पछिल्लो डा. मिनेन्द्र रिजाल र दिलभूषण पाठकबीच बीपीको ‘मेलमिलाप नीति’ विषयक युट्युब वार्तालाई प्रतिक उदाहरणमा लिन सकिन्छ ।नेता–पत्रकारको नाभी जोडिएको मुख्य ध्येय इतिहासका तथ्य लुकाएर या ओझेलमा पारेर गलत भाष्य निर्माण गरी विस्तारै–विस्तारै अस्थिरता, अशान्ति फैलाएर जातिय, क्षेत्रीय, धार्मिक द्वन्द्व (पछिल्लो उदाहरण सुनसरी)को अराजकता मच्चाएर असफल राष्ट्र तुल्याइ भूटान हुँदै सिक्किम पु¥याउनु हो । भुट्टो फाँसीबाट ०३६ सालको विद्यार्थी आन्दोलन उठेर जनमत सङ्ग्रह हुँदै ०४६ सालको उत्कर्षमा भारतले राजा वीरेन्द्रलाई ‘भुटानको राजा जस्तो भएर बस्न तयार भए आन्दोलन दबाइदिने’ प्रस्ताव गरेको तथ्यबाट त्यस यताका नेपाल सिध्याउने सबै पाइलाहरू प्रष्ट बुझ्न सकिन्छ । परिणाम अहिले मुलुक असफल राष्ट्र करार भएर भारत, चीन, अमेरिकाले बाँडीचुँडी गर्ने अवस्थामा पुगिसकेको छ । धन्न राजा वीरेन्द्रले भारतको ‘भुटानको राजा बनाउने’ प्रस्ताव नलुकाएर आम नेपाली जनतालाई थाहा दिएका कारण आज इतिहासको त्यो तथ्य भोलिको बाटो हिँड्नलाई एउटा मार्गदर्शक उज्यालो भइरहेको छ । त्यस्तै भोलीको बाटोलाई मार्गदर्शक उज्यालो हुने बीपीको १६ पुष ०३३को ‘मेलमिलाप नीति’ प्रस्तावको तथ्य लुकाउन पत्रकार दिलभूषणको युट्युबमा डा. मिनेन्द्र रिजाल ठूलो–ठूलो स्वरले घाँटीका नसा फुलाइरहेका देखिए भेटिए ।
यहाँनेरी के पनि प्रष्ट पारिदिऊँ भने व्यक्तिगत रूपमा डा. मिनेन्द्र रिजालसँग कुनै निकटको जान पहिचान छैन । नेपाली कांग्रेसभित्रका लोकराज बरालदेखि जगदीश पोखरेलसम्म बीपी जीवित कालखण्डका र गिरिजा कांग्रेसमा फस्टाएका डा. महत, महेश आचार्य, स्वर्णिम वाग्ले (हाल रास्वपा) सम्मका हजार, दुई हजार कति प्रा.डा. बौद्धिक नेता ठानिएका छन्, तिनीहरू सबैको सोच, समझ, नियतको प्रतिक उदाहरण पात्रका रूपमा मात्र डा. रिजालको नाम उल्लेख गरेको हुँ । उनीहरूलाई विगत दुई दशकदेखि नै तथ्य इतिहासलाई लुकाएर परचक्री अभिष्ट भ्रमको खेती गर्ने ‘डलर किसान’हरूको संज्ञा दिने गरेकोमा हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टी र प्रमाणित पनि गरिदिए । त्यसमा ‘भारू खेती’ले पनि काम गरेको भारतको संसद्मा ठूलै हङ्गामाको रूपमा उठेको थियो ।
माथि उल्लिखित आदि इत्यादि डलर किसान, भारू किसानका न्वारान (राजनीतिक÷आर्थिक) देखिको कुण्डली पंक्तिकारलाई जानकारी हुनुको अलिकति पृष्ठभूमि ल्याएर डा. मिनेन्द्र रिजाल उदाहरणमा आइपुग्छु । विसं. २०२८ सालमा वनारसको सिटी हलमा जननायक बीपी कोइराला र कमरेड पुष्पलाल श्रेष्ठबीच एक अर्काका राजनीतिक आर्थिक प्रस्तावमा हस्ताक्षर हुन वार्ता हुँदा अभानेविसंघ वनारस शाखाको स्ववियु निर्वाचनमा समाज सेवा सचिवमा निर्वाचित विद्यार्थी नेताको हैसियतले साक्षीको अवसर मिलेको थियो ।
गणतन्त्रको सवालमा बीपी र पुष्पलालबीच सहमति हुन नसक्दा त्यो वार्ता भङ्ग भएको थियो । त्यसपछि बीपीबाट प्रभावित भएर सहिद क्याप्टेन यज्ञबहादुर थापासँग हातहतियार चलाउन ट्रेनिङ लिएर सहिद सरोजप्रसाद कोइरालाको हत्यारा ठानिएका जनकपुर अञ्चलाधीश लिलाराज विष्टलाई उडाउन ३६ बम बोकेर देशभित्र आउँदा गिरफ्तार भइ साढे ५ वर्ष (जम्मा ७ वर्ष) जेलवासबाट बाहिर आइसकेपछि बीपीले नेविसंघ केन्द्रीय कार्यालयमा सचिव बनाएर साँचो थमाइदिनुभयो । त्यस बखत बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराइको संयुक्त अनुमति हस्ताक्षर लिएर मुखपत्र ‘सङ्क्रान्ति’ प्रकाशन गर्न खोज्दा मच्चिएको हङ्गामा बारे मलाई भन्दा बढी त्यस समयका नेविसंघ उपाध्यक्ष जैनेन्द्र बस्नेतलाई स्मृतिमा ताजा होला । पार्टी सभापति कृष्णप्रसाद भट्टराइको रोहवरमा नेविसंघ एजुकेटिब र मेराबीच तत्काललाई मुखपत्र ननिकाल्ने सहमति हुँदा मिनेन्द्र रिजालले मेरा नाम तीन नेताको संयुक्त अनुमति हस्ताक्षर पनि मबाट खोस्न खोज्दा किशुनजीले ‘त्यो त उनको सम्पत्ति हो’ भनेर खोस्न दिनुभएको थिएन । त्यसपछि बीपीकै सल्लाहमा नेविसंघ छोडेर पार्टीमा फर्केपछि किशुनजीसँग मिनेन्द्र रिजालले किन त्यस्तो हर्कत गरेको होला ? भनेर प्रश्न गर्दा उहाँले जवाफ दिनुभएको थियो– ‘तिमीलाई थाहा छैन । उसले हाम्रो सूचना अञ्चलाधीश कार्यालय पु¥याउँछ ।’ किशुनजीको त्यो जानकारी मिनेन्द्र रिजाललाई सूचना भएपछि उनी लाजले पनि हुन सक्छ नेविसंघको राजनीतिबाट टाढा हुन पुगे ।
समय बित्दै जाँदा अमेरिका हानिए । अमेरिकामै पीएच्डी गरेर उतै पढाउने जागिर खाएर १५ वर्ष बिताएका त्यसैलाई बौद्धिकताको पगरी गुथ्याइएको हो । कालक्रममा किशुनजी नै कांग्रेसबाट लखेटिएपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएर आरजुको हैकम चल्न थालेपछि एकैचोटी राज्यमन्त्री स्तरको सुविधा पाउने गरी प्रधानमन्त्रीको सल्लाहकार जागिरमा नेपाल फर्किए । कांग्रेसको टिकट पाएर सांसद र मन्त्री पनि भए । १२ भाइ पत्रकार र देश सिध्याउने भूमिका पाएका नेता गणको नाभी जोडिएको पृष्ठभूमिमा ठूलो विद्वान् नेताको हाइहाइ चिनारी पाए । त्यही हाइहाइ चिनारी देउवाको ‘एमसीसी पास’ गर्ने अमेरिकासँगको वचनबद्धतामा स्वर्णिम वाग्ले जत्तिकै काम लागे । ‘एन्सेलले कर छुट पाउनुपर्छ’ भनेर संसद्मा उफ्रेका देखिए भेटिए पछि किशुनजीको माथि उल्लिखित श्राप फलिभूत भयो । अहिले उनको १२ भाइ सोच, समझ, नियत पत्रकारितासँग नाभी जोडिएर ठूलो विद्वान् नेता प्रचारित भएका बाहेक राजनीतिक हिसाबको कुनै हैसियत छैन । मुलतः उनको अमेरिकाबाट फर्के यताको कर्म राजनीतिक नभएर शैक्षिक व्यापारीको हो । कुनै पनि मुलुकमा भाँडभैलो अराजकता मच्चाएर लुटतन्त्र फस्टाउनु छ भने सबैभन्दा पहिला त्यो देशको शिक्षा भाँडीदेऊ । पहिलेको ‘इस्ट इन्डिया कम्पनी’ र अहिलेको ‘बहुराष्ट्रिय कम्पनि’को यो घोषित नीति नै हो । त्यही नीतिको तहत नेपालमा शिक्षामा व्यापार लादिएको हो ।
यतिखेर यसमा कुनै चासो भएर यसखालको पाठ्यक्रमको कुनै अर्थ थिएन । तर विसं. २०२८ सालदेखि आज पर्यन्त लगातार ५५ वर्ष एक क्षण र एक निमेष पनि यता उति नभइ बीपी विचार बोक्ने कांग्रेसी भएका नाताले ठूलो विद्वान् कहलिएको डा. मिनेन्द्र रिजालले बीपीको ‘मेलमिलाप नीति’ बारे अनाप सनाप बकवास शास्त्र भाष्य गरेर तथ्य लुकाएर भावी पुस्तालाई बाटोको उज्यालो ओझेलमा पार्ने हर्कत गरिरहेको देखेर भेटेर आफ्नो राजनीतिक वैचारिक कर्म धर्म अनुसार यति जाँगर गरेको हुँ ।यस खालका साप्ताहिक स्तम्भको समस्या के हुन्छ भने भन्न खोजेको विषयमा आवश्यक पृष्ठभूमि र चिनारी ल्याउँदाल्याउँदै ठाउँ यति थोरै जोगिएको हुन्छ कि सूत्र रूपमा मात्र तथ्य प्रष्ट पारेर बिट मार्नुपर्ने हुन्छ । बीपीको मेलमिलाप नीतिको पुष्टी प्रमाणित तथ्य के हो भन्ने भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ‘सिक्किम विलयको लगत्तै पछि नेपालको तराइ भाग भारतमा गाभ्नु’ भन्ने ‘रअ’ प्रमुख कामेश्वरनाथ काओलाई लिखित आदेश दिइन् । त्यो सूचना सीआईएमार्फत राजा वीरेन्द्र र बीपीलाई प्राप्त भयो ।
त्यही सूचनाबाट अत्तालिएर राजा वीरेन्द्रले ‘शान्ति क्षेत्र प्रस्ताव’ अगाडि सारे । बीपी ‘राजाको गर्दन र मेरो गर्दन एक ठाउँमा’ भन्दै ‘मेलमिलाप नीति’ लिएर देश फर्कनुभयो । यसरी राजाको ‘शान्ति क्षेत्र’ र बीपीको ‘मेलमिलाप’ एक सिक्काका दुई पाटा पुष्टी प्रमाणित हुन्छ । यो तथ्यलाई लुकाएर बीपी स्मृतिको अवसरमा ‘मेलमिलाप नीति’को शास्त्र र भाष्य व्याख्या गर्नु सयमा सय प्रतिशत धोखा, बेइमानी, ठगी र भ्रमको खेती हो । यस खालको धोखा, बेइमानी, ठगी र भ्रमको खेती फस्टाउन माथि उल्लिखित १२ भाइ पत्रकार जगत र आम कांग्रेसी बौद्धिक जमातको नाभी आन्द्राभुँडी देखिने गरी जोडिएको तथ्यलाई उजागर गर्न मात्र प्रतिक उदाहरणमा डा. मिनेन्द्र रिजालको नाम पाठ्यक्रममा सामेल गरेको हुँ । अस्तु ।