काठमाडौं, पठाओले अब नेपाली अनलाइन व्यवसायीका लागि ‘पठाओ कमर्स’ नामक डिजिटल बिजनेस म्यानेजमेन्ट सिस्टम सार्वजनिक गरेको छ ।
अनलाइन व्यापार गर्ने व्यवसायीलाई लक्षित गरेर कम्पनीले पठाओ कमर्स ल्याएको हो । यस प्लेटफर्ममार्फत व्यवसाय गर्न सहज र सरल हुने जनाइएको छ । कम्पनीले ‘सिम्प्लीफाइ योर अनलाइन बिजनेस’ भन्ने अवधारणाका साथ ‘पठाओ कमर्स’ सार्वजानिक गरिएको हो । यसमार्फत व्यवसायीले सामाजिक सञ्जाल, अर्डर, इन्भेन्टोरी, वेबसाइट र डेलिभरीलगायत दैनिक व्यवसायीक कामहरू एउटै प्रणालीबाट व्यवस्थापन गर्न सक्नेछन् । पठाओ कमर्समार्फत हाल फेसबुक र ह्वाट्सएपका मेसेजहरू एउटै इनबक्समा ल्याएर ग्राहकसँग च्याट गर्दागर्दै अर्डर लिन सकिन्छ । आएको अर्डरलाई पठाओ पार्सलमार्फत नेपालभर डेलिभरी गर्न सकिनेछ । आगामी दिनमा इन्स्टाग्राम र टिकटकलाई समेत यसमा जोड्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, पठाओ कमर्सले च्याटदेखि अर्डर लिने र डेलिभरीसम्मको प्रक्रियालाई एउटै प्रवाहमा जोड्ने सुविधा नेपालमा पहिलो पटक उपलब्ध गराएको हो । व्यवसायीले दराज एप, आफ्नै वेबसाइट तथा अन्य अनलाइन स्टोरलाई समेत पठाओ कमर्समा जोडेर विभिन्न माध्यमबाट आएका अर्डर र स्टक एउटै ड्यासबोर्डबाट व्यवस्थापन गर्न सक्नेछन् । सपिफाइ र वु–कमर्स जस्ता प्लाटफर्म पनि चाँडै जोडिने कम्पनीको भनाइ छ । पठाओ कमर्समार्फत व्यवसायीले आफ्नो व्यापारका लागि निःशुल्क वेबसाइट बनाउन र आफ्नो अनलाइन स्टोरलाई पठाओ शपमा समेत लाइभ गर्न सक्नेछन् । वेबसाइट, सामाजिक संजाल तथा पठाओ शपबाट आएका अर्डरहरूलाई एउटै ठाउँबाट व्यवस्थापन गरी पठाओ पार्सलमार्फत डेलिभरी गर्न सकिनेछ ।