काठमाडौँ । रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित जिल्लामा पशुपन्छीको उद्धार तथा उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले २४ घण्टे हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार बाढी प्रभावित पशुपालक कृषकले निःशुल्क हटलाइन नम्बर ११५९ मा सम्पर्क गरी पशुपन्छीको स्वास्थ्य अवस्था, उपचार तथा उद्धारसम्बन्धी आवश्यक प्राविधिक परामर्श लिन सक्नेछन्।
हटलाइनमा प्राप्त सूचनाका आधारमा प्रभावित क्षेत्रमा खटिएका पशु चिकित्सक तथा उद्धार एवं उपचार टोलीसँग समन्वय गरी आवश्यकताअनुसार तत्काल टोली परिचालन गरिने एसोसिएसनले जनाएको छ।एसोसिएसनले बिहीबार बिहानै डा. प्रवेश शर्मा, डा. निशान्त शर्मा गेलाल, डा. सुदीप रेग्मी, डा. दिनेश अर्याल र डा. केशव खरेल सम्मिलित पशु चिकित्सक टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरेको छ।
बाढीका कारण पशुपन्छीमा विभिन्न संक्रामक रोग तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै एसोसिएसनले रोग निगरानी तथा रोकथामका लागि पशु सेवा विभागलगायत सम्बन्धित सरकारी निकायसँग समेत समन्वय गरिरहेको जनाएको छ।
एसोसिएसनले प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार, उपचार तथा आवश्यक प्राविधिक सहयोगका लागि कृषकलाई हटलाइनमा सम्पर्क गर्न आग्रह गरेको छ।
सम्पर्क नम्बरहरू
निःशुल्क हटलाइन : ११५९
डा. शंकर न्यौपाने (महासचिव) : ९८४५४४०४०४
डा. विशाल पोखरेल (सचिव) : ९८४३३९७५८७
डा. दिनेश अर्याल (केन्द्रीय सदस्य) : ९८४००१७०७६