काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रसुवाको भोटेकोशी बाढी प्रभावितलाई तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि पाँच करोड रुपैयाँबराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
संघको बुधवार बसेको आकस्मिक बैठकले बाढी प्रभावितलाई आपतकालिन सहयोग गर्न उक्त रकम सहयोग गर्ने भएको हो । रसुवास्थित भोटेकोशी नदीमा बुधवबार बिहान आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ । साथै, संघले प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतलाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । बैठकले संघका अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार’ मूल समिति गठन गरेको छ ।
संघले आर्थिक सहयोग संकलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरेको छ भने उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति तथा महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा एनसीसी परिचालन समिति गठन गरेको छ । एनसीसी परिचालन समितिमा क्षेत्रीय संयोजकहरूलाई समेत समेटिने जनाइएको छ । विपद् व्यवस्थापन समिति तथा सम्बन्धित सरकारी निकायसँग समन्वयका लागि एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई जिम्मेवारी दिइएको छ ।
संघले प्रभावित क्षेत्रमा आवश्यक मेडिकल टोली तथा स्वयंसेवक तत्काल परिचालन गर्ने निर्णय पनि गरेको छ । साथै, संघका पदाधिकारी तथा सदस्यहरूलाई उद्धार र राहत कार्यमा स्वयंसेवकका रूपमा सहभागी हुन अपिल गरिएको छ । संघले नेपाल सरकारको संयन्त्रमार्फत उद्धार, राहत तथा पुनःस्थापनाका काममा सहकार्य गर्न आफू तयार र प्रतिबद्ध रहेको जनाएको छ ।
संघका अनुसार राहतका लागि डेबिट कार्ड, पेपाल तथा अन्य डिजिटल वालेटमार्फत एनआरएनएको आधिकारिक पोर्टल, बैंकिङ माध्यम तथा एनसीसीको संयन्त्रबाट रकम जम्मा गर्ने व्यवस्था गरिनेछ । यसैगरी, संघका सदस्य तथा पदाधिकारीका परिवारका सदस्यहरू बाढीबाट प्रभावित भए/नभएको विवरण संकलन गरी आवश्यक उद्धार तथा राहतका लागि सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गर्ने निर्णय गरेको संघका महासचिव डा. चिरञ्जीवी खड्काले जानकारी दिए ।