बेइजिङ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा नेपालको सीमासँग जोडिएको क्षेत्रमा गएको विनाशकारी लेदोसहितको पहिरोका कारण नदी थुनिएर ठूलो ताल बनेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल अर्थात् दोभान नजिकै नदी थुनिँदा उक्त ताल बनेको हो।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। आगामी तीन दिनभित्र थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ। पानीको मात्रा तीव्र रूपमा बढ्दै जाँदा ताल फुटेर तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने जोखिम बढेको छ। चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)ले उक्त ताल फुट्ने सम्भावना उच्च रहेको उल्लेख गरेको छ।
चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्था र यसको विकासक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। सम्भावित रूपमा ताल फुटेपछि आउन सक्ने बाढीको प्रभाव आँकलन गर्न ‘फ्लड सिमुलेशन’ तथा प्राविधिक विश्लेषण भइरहेको बताइएको छ। आपत्कालीन उद्धार तथा क्षति न्यूनीकरणका लागि आवश्यक तयारी पनि तीव्र पारिएको छ।
नेपाल–चीन सीमाको नेपाली भूभागबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरोले दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ अर्थात् केरुङ नाकामा समेत क्षति पुर्याएको जनाइएको छ।भौगोलिक कठिनाइ, निरन्तर वर्षा र पुनः पहिरो तथा बाढीको जोखिमका बीच जनमुक्ति सेना, इन्जिनियरिङ टोली, टेलिकम अपरेटर तथा राहत संस्थाहरू उद्धार र राहत कार्यमा जुटेका छन्।
विमान, आवश्यक उपकरण र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र पारिएको छ। नदी थुनिएर बनेको विशाल तालमा पानीको मात्रा निरन्तर बढ्दै गएकाले सम्भावित जोखिमप्रति चिन्ता बढेको छ। चिनियाँ अधिकारीहरूले तालको अवस्था, पानीको बहाव र सम्भावित फुटाइबारे निरन्तर निगरानी गरिरहेका छन्।