काठमाडौं, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थुनामुक्त हुने भएका छन् । विशेष अदालत काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।
नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा थुनछेक बयानका लागि अदालतमा हाजिर गराइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दाबी गर्दै नेता कार्कीसहितका प्रतिवादीविरुद्ध तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार एक सय ६० र बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएको उनीमाथि आरोप छ । तत्कालीन मन्त्री रहेका उनीसँगै सचिवसहितका कर्मचारी र चिनियाँ ठेकेदार कम्पनीको आपसी मिलेमतो देखिएको अख्तियारको दाबी छ । खरिद सम्झौताअनुसार ठेकेदार कम्पनीले कर, महसुल तथा अन्य शुल्कहरू बुझाउनुपर्नेमा प्रावधानविपरीत कम्पनीलाई कर, महसुल तथा अन्य शुल्कहरू छुट दिने निर्णय भएको अख्तियारको निष्कर्ष छ ।
यो मुद्दामा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव सुरेश आचार्य र डण्डुराज घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीलगायतलाई प्रतिवादी बनाइएको छ ।