काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। उनलाई प्रहरीले सिंहदरबारको गेटबाटै नियन्त्रणमा लिएको हो। अध्यक्ष तामाङ सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए। छलफल सकेर सिंहदरबारबाट बाहिरिने क्रममा प्रहरीले उनलाई गेटबाटै पक्राउ गरेको हो।
तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको बताइएको छ।
प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको अवस्था, राहत तथा पुनःस्थापनाका विषयमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सिंहदरबारमा छलफल गरेका थिए। सोही छलफलमा सहभागी भएर फर्किने क्रममा गाउँपालिका अध्यक्ष तामाङ पक्राउ परेका हुन्।
