काठमाडौं, देशका विभिन्न क्षेत्रमा पछिल्ला समयमा भएका हिंसात्मक घटना, सामुदायिक तनावले बालबालिकको संवैधानिक अधिकार, मानवअधिकार र सार्वजनिक सुरक्षामा खलल पुगेको भन्दै प्रभावकारी संरक्षण गर्न प्रधानमन्त्री समक्ष माग गरिएको छ ।
चिल्ड्रेन भिजन नेपाल संस्थाका अध्यक्ष रमेश लम्सालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय समक्ष उक्त माग गरेका ह्न । पछिल्लो समयमा कोशी प्रदेशको सुनसरीको साथै मधेस प्रदेशका सिरहा, धनुषा, सप्तरीलगायतका जिल्लाका विभिन्न क्षेत्रमा भएका हिंसात्मक घटना, सामुदायिक तनाव, झडप, आगजनीलगायतका घटनाले सबैभन्दा मार बालबालिकमा पारेकाले यस्ता घटना हुनै नदिन सरकारलाई गम्भीर भएर कदम चाल्न पनि आग्रह गरिएको छ ।
पछिल्ला समयमा देखिएका घटनाले शान्ति सुरक्षा र कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको भन्दै त्यसमा सचेत रहन सरकारलाई आग्रह गरिएको छ । साथै प्रत्येक नागरिकको आधारभूत अधिकारको पूर्वसर्तका रुपमा रहेका सर्वभौमसत्ता, विधिको शासन, लोकतन्त्र, सामाजिक सद्भाव, राष्ट्रिय एकता, समावेशिता, मानवअधिकार तथा न्यायमा आधारित राज्य व्यवस्था कायम गराउन सरकार समक्ष आग्रह गरिएको छ । जुनसुकै द्वन्द्वका घटनाबाट सबै भन्दा बढी बालबालिका प्रभावित हुने भएकाले त्यसमा ध्यान दिन आग्रह गरिएको हो ।