काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री स्वयं नर्सिङ पृष्ठभूमिबाट आएकी भए पनि पेशागत सुधारको माग गर्दै नर्सहरू आन्दोलनमा उत्रिएका छन्। नर्स ज्योति रानाभाटले १५ बुँदे माग राख्दै पाँच दिनअघि सुरु गरेको आमरण अनसनको समर्थनमा देशभरका नर्सहरू सडकमा प्रदर्शनमा उत्रिएका हुन्।
रानाभाटले न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, श्रम शोषणको अन्त्य गर्न तथा नर्सहरूको पेशागत अधिकार र सेवा–सुविधा सुधार गर्नुपर्ने मागसहित आमरण अनसन थालेकी हुन्।यसैबीच, आन्दोलनको समाधान खोज्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अनसनरत रानाभाटका प्रतिनिधि र मन्त्रालयका अधिकारीबीच वार्ता सुरु भएको छ।
वार्तामा रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन्।मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव, अतिरिक्त सचिव, मन्त्रीका प्रमुख सल्लाहकार तथा कानुन शाखाका प्रतिनिधिहरू सहभागी रहेको जनाइएको छ।वार्तामा रानाभाटले अघि सारेका १५ बुँदे मागमाथि छलफल भइरहेको छ। सहमतिमार्फत समस्या समाधान गर्ने प्रयास जारी रहेको मन्त्रालय स्रोतले जनाएको छ। नर्सहरूले आफ्ना मागप्रति सरकार गम्भीर नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।