काठमाडौँ , अर्थ मन्त्रालयले नेपालको बीमा क्षेत्रको समग्र सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै सुशीलकुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्।
समितिलाई नेपालको बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या तथा सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी आवश्यक सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ।अर्थ मन्त्रालयका अनुसार समितिले ९० दिनभित्र अध्ययन सम्पन्न गरी सुधारका लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेस गर्नुपर्नेछ।
बीमा क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषय पहिचान गरी समितिले सरकारलाई सुझाव दिने अपेक्षा गरिएको छ।