विराटनगर , भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा स्वदेशी चिनीको आपूर्ति बढेको देखिए पनि त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउन सकेका छैनन्। स्थानीय उद्योगबाट दैनिक ठूलो परिमाणमा चिनी बजारका लागि बाहिरिँदै आए पनि बजारमा भने तस्करीमार्फत भित्रिएको भारतीय चिनीको हिस्सा बढेको पाइएको छ।
भारतले १३ मेदेखि ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को सूचना नभएसम्मका लागि चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि पूर्वी नेपालमा स्वदेशी चिनीको आपूर्ति बढेको हो। भारतबाट चिनी आउन रोकिएपछि सुनसरीस्थित इस्टर्न सुगर मिलबाट मात्रै दैनिक औसत २ सय ५० क्विन्टल चिनी बजारमा पठाइँदै आएको छ। तर उद्योगबाट बाहिरिएको चिनी उपभोक्तासम्म सहज रूपमा पुग्न नसकेको व्यवसायी तथा उपभोक्तावादीहरूको गुनासो छ।