काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–५ बस्ने सुर्खेत घर भएका ४६ वर्षीय धना तिवारी, काठमाडौं कीर्तिपुर नगरपालिका–४ बस्ने बागलुङ घर भएका ३३ वर्षीय राम बहादुर खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका–३ बस्ने दार्चुला घर भएका ३० वर्षीय सुबोध जंग कुँवर रहेका छन् ।
पक्राउमध्ये धनाले न्यूजिल्यान्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १६ लाख रूपैयाँ, राम बहादुरले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २५ लाख रूपैयाँ र सुबोधले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धनालाई भक्तपुर सूर्यविनायक नगरपालिका–५ बाट बुधबार तथा राम बहादुरलाई भक्तपुर चाँगुनारायण नगरपालिका–६ बाट र सुबोधलाई काठमाडौं महानगरपालिका–१२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।