काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ आगामी साउन ३१ गते (अगस्ट १६) नेपाल भ्रमणमा आउने भएका छन्।नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा जनरल सेठ पाँचदिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेका हुन्।
भारतीय सेनाको ३१औँ सेना प्रमुखका रूपमा गत असार १५ गते (जुन ३०) नियुक्त भएका जनरल सेठको यो नेपाल भ्रमणलाई दुई देशका सेनाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र सैन्य सहकार्यलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।
भ्रमणका क्रममा जनरल सेठलाई नेपाल सरकारले नेपाली सेनाको मानार्थ महारथी (मानार्थ जनरल) को दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच एकअर्काका सेनाध्यक्षलाई मानार्थ सेनापतिको उपाधि प्रदान गर्ने परम्परा लामो समयदेखि रहँदै आएको छ।
भ्रमण अवधिमा उनले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री तथा नेपाली सेनाका उच्च अधिकारीसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।