काठमाडौं, शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले खुम्चिएको छ । अघिल्लो दिन चार दशमलव ७९ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार १३ दशमलव ८२ अंकले ओरालो लागेर २६ सय ५४ दशमलव १५ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६२ अंकले ओरालो लागेर चार सय ६४ दशमलव ७३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४७ वटा कम्पनीहरुको ६० हजार तीन सय ८१ पटकको कारोबारमा एक करोड आठ लाख चार हजार चार सय २६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ६२ करोड २७ लाख ७७ हजार चार सय ४२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।