क्वालालम्पुर, वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४ प्रतिशत मलेसियाली उपभोक्ताले किनमेल प्रक्रियामा सहयोग लिन कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गर्ने गरेका छन् ।
‘एडयेन इन्डेक्स २०२६ मलेसिया रिटेल रिपोर्ट’का अनुसार, उपभोक्ताले उत्पादन खोज्न, विकल्प तुलना गर्न र किनमेलसम्बन्धी सुझाव लिन एआईको प्रयोग बढाउँदै लगे पनि ५२ प्रतिशतले एआईमार्फत आफ्नोतर्फबाट खरिद प्रक्रिया पूरा गर्न भने सहज महसुस नगरेको बताएका छन् । एडयेन मलेसियाका कन्ट्री म्यानेजर ली सुन यिनले एआई आधारित किनमेलको विस्तारमा ‘विश्वास’ अझै प्रमुख चुनौती रहेको बताए ।
‘उपभोक्ताले उत्पादन खोजी, तुलना र सुझावका लागि एआई प्रयोग गरिरहेका छन्, तर एआईमार्फत हुने कारोबारलाई व्यापक रूपमा स्वीकार गर्न विश्वासको पक्ष अझै महत्वपूर्ण छ’, उनले भने । ली सुनका अनुसार उपभोक्ताको प्रमुख चासो व्यक्तिगत तथ्यांकको सुरक्षा मात्र नभई उत्पादनको गुणस्तर, ग्राहक सेवा र बिक्रीपछिको सेवासँग पनि सम्बन्धित छ ।
सर्वेक्षणले भुक्तानी सुरक्षाले पनि उपभोक्ताको विश्वासमा महत्वपूर्ण प्रभाव पार्ने देखाएको छ । करिब ५९ प्रतिशत उपभोक्ताले भुक्तानीसम्बन्धी त्रुटिले कुनै ब्रान्डप्रतिको उनीहरूको धारणा नकारात्मक बनाउन सक्ने बताएका छन् । त्यस्तै, २६ प्रतिशत उत्तरदाताले भुक्तानीमा समस्या आएपछि खरिद प्रक्रिया रद्द गर्ने तथा सम्बन्धित बिक्रेताकहाँ पुनः नजाने बताएका छन् ।
एडयेनले सार्वजनिक गरेको उक्त प्रतिवेदनले एआइको बढ्दो प्रयोगसँगै डिजिटल किनमेलमा उपभोक्ताको विश्वास र सुरक्षा सुनिश्चित गर्नु व्यवसायका लागि मुख्य चुनौती बनेको देखाएको सिन्ह्वाले जनाएको छ ।