काठमाडौं, याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले बजाज नेपालसँग रणनीतिक साझेदारी गरेको छ । कम्पनीले आफ्ना चालक साझेदारहरूलाई मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्यले बजाजसंग सहकार्य गरेको हो । यस साझेदारीअन्तर्गत, योग्य याङ्गो प्रो चालक साझेदारहरूले चयन गरिएका बजाज मोटरसाइकलहरू २४ महिनासम्म शून्य प्रतिशत ब्याज (मार्कअप), ४० प्रतिशत डाउन पेमेन्ट तथा एक्सचेन्ज सुविधासहित खरिद गर्न सक्नेछन् । यसले चालकहरूलाई आफ्नै मोटरसाइकलमा लगानी गर्न र आम्दानी बढाउने अवसर प्रदान गर्नेछ ।
याङ्गोले ‘इनभाइट रस’ अभियान पनि सञ्चालन गरेको छ, जसअन्तर्गत चालक साझेदारहरूले नयाँ बजाज मोटरसाइकल जित्ने मौका पाउनेछन् । अभियानको अन्त्यमा उत्कृष्ट चारजना याङ्गो चालक साझेदारलाई बजाज मोटरसाइकल पुरस्कारस्वरूप प्रदान पनि गरिने जनाइएको छ । यो अभियान जुलाई ३१, सम्म सञ्चालन हुने हुने कम्पनीले जनाएको छ ।
अभियानमा सहभागी हुन हालका चालक साझेदारहरूले आफ्नो युनिक रेफरल कोड प्रयोग गरी नयाँ चालकहरूलाई याङ्गोमा आबद्ध गराउनुपर्नेछ । रेफर गरिएको चालकले सफलतापूर्वक दर्ता गरी प्लेटफर्ममा आबद्ध भएको १५ दिनभित्र १३० वटा राइड पूरा गरेपछि मात्र उक्त रेफरल मान्य हुनेछ । यस सहकार्यले चालक साझेदारहरूलाई आर्थिक रूपमा सशक्त बनाउन र सवारी साधन खरिदलाई सहज बनाउने याङ्गोको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ । यसबाट चालकहरूले आफ्नो व्यवसाय विस्तार गर्न सक्नेछन् भने नेपालमा बढ्दो राइड–हेलिङ सेवाको माग पूरा गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
याङ्गो राइड नेपालका कन्ट्री प्रमुख सन्तोष पाण्डेले बजाज नेपालसँगकोे साझेदारी र ‘इनभाइट रस’ अभियानले नेपालमा चालक साझेदारलाई थप सशक्त बनाउने, आर्थिक पहुँच बढाउने र आकर्षक प्रोत्साहनमार्फत प्लेटफर्मको विकास गर्ने मदत गर्ने बताए ।