काठमाडौं, लक्ष्मी सनराइज बैंक लिमिटेडले वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७५ लक्ष्मी सनराइज डिबेन्चर २०९२’ को बिक्री खुल्ला भएको छ । बैंकका अनुसार यही साउन १४ गते बिहीबारबाट यो ऋणपत्रको बिक्री खुल्ला भएको हो ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका दरले कुल ३० लाख कित्ता अर्थात् तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुल्ला गरेको हो । निष्कासित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको बैंकले जानकारी दिएको छ । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको बिक्री छिटोमा साउन १९ गते र पूर्ण आवेदन नपरेमा ढिलोमा साउन २८ गतेसम्म खुला रहनेछ ।
ऋणपत्र निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपालले बैंकलाई ‘केयरएनपी ट्रिपल बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले बैंकको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने जनाइएको छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले निर्वाह गरिरहेको छ ।