काठमाडौं, तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट करिब दुई सय जना च्यानल पार्टनरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
हरेक वर्ष आयोजना हुने यस कार्यक्रमले कम्पनी र यसको डिलर नेटवर्कबीचको सहकार्यलाई अझ सुदृढ बनाउने, साझा उपलब्धिहरूको सम्मान गर्ने तथा आगामी रणनीतिक योजनाबारे जानकारी आदानप्रदान गर्ने उद्देश्य राखेको थियो । कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको पाँच दशकभन्दा लामो यात्रालाई समेटिएको प्रस्तुति गरिएको थियो । सो क्रममा कम्पनीको विकासक्रम, बजार नेतृत्व, उत्पादन क्षमता, महत्वपूर्ण उपलब्धि तथा भावी रणनीतिबारे जानकारी गराइएको थियो । साथै, अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन तथा विश्वस्तरीय उत्पादन मापदण्डमार्फत उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई कम्पनीले पुनः दोहोर्याएको छ ।
डिलर नेटवर्कको योगदानको कदर गर्दै कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना डिलरलाई विभिन्न विधामा सम्मान गरेको छ । राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स तथा प्रतिष्ठित लिट्मस एक्सिलेन्स अवार्डसहितका विभिन्न विधामा पुरस्कार प्रदान गर्दै उत्कृष्टता, विश्वास र दीर्घकालीन साझेदारीको सम्मान गरिएको थियो । कार्यक्रममा लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारे । उनले भने, ‘डिलरहरूको विश्वास र निरन्तर साथले हामीलाई नयाँ प्रविधि अपनाउन, उत्कृष्ट उत्पादन मापदण्ड कायम राख्न तथा नेपालको उज्ज्वल भविष्य निर्माणमा सँगै अघि बढ्न प्रेरित गरेको छ ।’
कम्पनीका अनुसार लिट्मस इन्डस्ट्रिजको सफलता आफ्ना साझेदारहरूसँगको बलियो र दीर्घकालीन सम्बन्धमा आधारित छ । ‘पावर पार्टनर्स मिट २०८३’ले साझा मूल्य सिर्जना, नवप्रवर्तनलाई प्रवद्र्धन तथा नेपालको विद्युतीय र पूर्वाधार क्षेत्रको दिगो विकासमा योगदान पु¥याउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएकोे छ ।