काठमाडौँ । कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई उपचाररत रहेका रविन्द्र मेहताको निधन भएपछि गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारबीच वार्ता सुरु भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच भेटवार्ता भइरहेको हो। साउन १० गते राति कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका २२ वर्षीय मेहताको उपचारका क्रममा मंगलबार निधन भएको थियो।
यसअघि मंगलबार नै गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका थिए। गृहमन्त्रालयमा आयोजित छलफलमा दुवै समुदायका विभिन्न प्रतिनिधिको सहभागिता रहेको थियो।गृहमन्त्रीको सचिवालयका अनुसार छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्था, विवाद, शान्ति–सुरक्षा तथा आपसी सद्भाव कायम गर्ने विषयमा विचारविमर्श गरिएको थियो। देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिलाई सहज बनाउन सरकार संवाद र समन्वयमार्फत समाधान खोज्ने प्रयासमा रहेको जनाइएको छ।