काठमाडौं, विकास बैंकहरूको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकमध्ये राष्ट्रियस्तरका आठ वटा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ मा मात्रै आठ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।
सम्बन्धित बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका आठ विकास बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ दशमलव ८२ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूले कुल पाँच अर्ब २८ करोड ५७ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । एक वर्षको अवधिमा बैंकहरूको खुद मुनाफा तीन अर्ब ३७ करोड ३५ लाख ९४ हजार रुपैयाँले बढेको छ ।
खुद नाफा आर्जनका आधारमा गरिमा विकास बैंक राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये पहिलो स्थानमा रहेको छ । बैंकले आव २०८२/०८३ मा एक अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैंकको खुद मुनाफा एक अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँ थियो । यसैगरी मुक्तिनाथ विकास बैंक एक अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ खुद मुनाफासहित दोस्रो स्थानमा रहेको छ । अघिल्लो आवमा बैंकले एक अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । नाफाका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक तेस्रो स्थानमा रहेको छ । बैंकले आव २०८२/०८३ मा एक अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा बैंकको खुद मुनाफा ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ थियो ।
यसैगरी ज्योति विकास बैंकले आव २०८२/०८३ मा एक अर्ब ५९ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैंकको खुद मुनाफा १० करोड दुई लाख २० हजार रुपैयाँ मात्र थियो । यस आधारमा ज्योति विकास बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । कामना सेवा विकास बैंकले पनि समीक्षा अवधिमा ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । त्यस्तै साँग्रिला डेभलपमेन्ट बैंकले पनि आव २०८२/०८३ मा ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैंकको खुद मुनाफा ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
लुम्बिनी विकास बैंक ले समीक्षा अवधिमा ८५ करोड १० लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा बैंकले २४ करोड ११ लाख ६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । एक वर्षमै नाफा उल्लेख्य रूपमा बढाउने बैंकमध्ये लुम्बिनी विकास बैंक पनि परेको छ ।यसैगरी महालक्ष्मी विकास बैंकले आव २०८२÷०८३ मा ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैंकको खुद मुनाफा ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ रहेको थियो ।