काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सुनसरी घटनालगायत विषयमा छलफल गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मुलुकमा असहज परिस्थिति उत्पन्न भएका बेला प्रधानमन्त्री वालेन्द्र शाहले नेतृत्वदायी र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा आफूले बैठकमा जोड दिएको राससलाई बताए ।
“धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौंदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ । शान्ति, सद्भाव कायम गर्न एकताबद्ध भई आमनागरिकमा आह्वान गरौँ भन्ने प्रस्ताव गरेका छौँ”, सभापति थापाले भने, “अवाञ्छित गतिविधि हुन नदिन सावधानी अपनाउन आग्रह गरेका छौँ । सरकार जनताको अभिभावक पनि हो । यस्तो समयमा प्रधानमन्त्रीले तीनवटै सरकारसँग संवाद गरेर शान्ति एवं सद्भाव कायम गर्नेतर्फ लाग्नुपर्छ ।”