काठमाडौं, नेपाल राष्ट्र बैंक अर्थ मन्त्रालयअन्तर्गतको स्वायत्त निकाय हो, यसमा कसैको दुईमत छैन । यो निकायमा हालसम्म एक जना गभर्नर र दुई जना डेपुटी गभर्नर हुने व्यवस्था छ । तर इतिहासले यही स्वायत्त निकायमा सधैँजसो दलीय छाया परेको देखाउँछ ।
नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबरा हुन् । अहिले डा. विश्वनाथ पौडेल गभर्नर छन् । पहिलो गभर्नर जबराले सन् १९५६ देखि १९६१ सम्म गभर्नर पद सम्हालेका थिए । उनी राजदरबारसँंग निकट भएकै कारण गभर्नर बन्न सफल भएका थिए । यता अहिले नेतृत्व सम्हालिरहेका पौडेल नेकपा एमाले र नेपाली कांग्रेस पार्टीको गठबन्धन सरकारबाट कांग्रेसको कोटाबाट नेपाली कांग्रेसकै नेता भएकै कारण गभर्नर पद पाउन सफल भएका व्यक्ति हुन् ।
नेपाल राष्ट्र बैंकमा गभर्नर पदको इतिहास हेर्दा अन्य गभर्नरमा पनि चरम राजनीतिक आस्था र निकटता रहेको देखिन्छ । विशेष गरी विसं २०४६ सालको जनआन्दोलनपछि आएको बहुदलीय व्यवस्थामा गभर्नर नियुक्तिमा चरम राजनीति भएको छ । नेपाल राष्ट्र बैंकका दोस्रो गभर्नर लक्ष्मीनाथ गौतम हुन् । उनले सन् १९६१ देखि १९६५ सम्म गभर्नरको पद सम्हाले पनि उनको नियुक्तिमा भने कुनै दलीय निकटता खुलेको छैन । त्यसपछि गभर्नर प्रद्युम्नलाल राजभण्डारीले पनि सन् १९६५ देखि १९६६ सम्म कार्यकाल सम्हालेका थिए । उनमा पनि कुनै राजनीतिक निकता खुलेको छैन । त्यसपछि गभर्नर डा. भेषबहादुर थापाले भने सन् १९६६ देखि १९६७ सम्म गभर्नरको पद सम्हालेका हुन् । उनी तत्कालीन राजसंस्थासँग निकट भएको देखिन्छन् ।
राष्ट्र बैंकका पाँचौँ गभर्नरको रूपमा भने डा. यादवप्रसाद पन्तले कार्यभार सम्हालेका थिए । सन् १९६८ देखि १९७३ गभर्नर पदमा रहेका उनी पञ्चायतकालीन शासंनसंग आबद्ध रहेका थिए । त्यसपछिका गभर्नर कुलशेखर शर्माको भने राजनीतिक निकटता खुलेको छैन । उनले सन् १९७३ देखि १९७८ गभर्नरको पद सम्हालेका थिए ।
नेपाल राष्ट्र बैंकमा सातौँ गभर्नरको रूपमा रहेका कल्याण विक्रम अधिकारी भने तत्कालीन पञ्चायतकालीन प्रशासक थिए । उनले सन् १९७९ देखि १९८४ सम्म गभर्नरको पद सम्हालेका थिए । आठौँ गभर्नरको रुपमा रहेका गणेश बहादुर थापा पनि पञ्चायतकालीन नियुक्तिमा गभर्नर भएका व्यक्ति हुन् । उनले सन् १९८५ देखि १९९० गभर्नरको पद सम्हालेका थिए ।
नवौँ गभर्नरको जिम्मेवारी सम्हालेका हरिशंकर त्रिपाठी भने बहुदलपछिको सरकारी नियुक्तिमा गभर्नर बन्न सफल भएका व्यक्ति हुन् । उनले सन् १९९० देखि १९९५ सम्म गभर्नरको पद सम्हालेका थिए ।
१० औँ गभर्नरको रूपमा नियुक्ति पाएका सत्येन्द्र प्यारा श्रेष्ठ तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारद्वारा नियुक्त भएका व्यक्ति हुन् । उनले सन् १९९५ देखि २००० सम्म गभर्नरको पद सम्हालेका थिए । त्यसपछि भने डा. तिलक रावल गभर्नर बन्न सफल भएका थिए । तत्कालीन कांग्रेस सरकारसँग निकट भएकै कारण गभर्नर बन्न सफल भएका रावलले सन् २००० देखि २००५ सम्म गभर्नरको जिम्मेवारी सम्हालेका थिए । सोपश्चात् भने नेपाल राष्ट्र बैंकभित्रबाट नै दिपेन्द्र पुरुष ढकालले कामु गभर्नरको जिम्मेवारी पाएका थिए । उनले सन् २००० देखि २००१ सम्म जिम्मेवारी सम्हालेका थिए । सोपश्चात् भने विजयनाथ भट्टराई गभर्नर बन्न सफल भएका थिए । तत्कालीन शाही सरकारबाट गभर्नरको जिम्मेवारी पाएका भट्टराईले सन् २००५ देखि २०१० सम्म कार्यभार सम्हालेका थिए ।
सन् २००९ मा कार्यवाहक गभर्नरको रूपमा भने दीपेन्द्र बहादुर क्षेत्रीले जिम्मेवारी सम्हालेका थिए । सोपश्चात् एमालेनिकट डा. युवराज खतिवडा गभर्नर बन्न सफल भएका थिए । एमाले सरकारबाट नै नियुक्ति पाएका उनले सन् २०१० देखि २०१५ सम्म कार्यभार सम्हालेका थिए ।
१७औँ गभर्नरको रूपमा डा. चिरञ्जीवी नेपालले नियुक्ति पाएका थिए । कांग्रेस निकट एवं तत्कालीन नेपाली कांग्रेसको सरकारबाट नियुक्ति पाएका नेपालले सन् २०१५ देखि २०२० सम्म गभर्नरको पद सम्हालेका थिए । सोपश्चात् महाप्रसाद अधिकारी गभर्नर बन्न सफल भएका थिए । एमालेनिकट भएकै कारण एमाले सरकारबाट नियुक्ति पाएका अधिकारीले सन् २०२० देखि २०२५ गभर्नर पद सम्हालेका थिए ।
नेपाल राष्ट्र बैंकमा हालसम्म गभर्नर भएका व्यक्तित्वहरूको राजनीतिक पृष्ठभुमि र नियुक्ति हेर्दा आजको दिनसम्म पनि राष्ट्र बैंक दलीय छायाबाट मुक्त हुन सकेको देखिँदैन । जुन सरकार आयो, जुन सरकारको अर्थमन्त्री भयो त्यही सरकार र त्यही अर्थमन्त्रीबाट राष्ट्र बैंकको स्वायतत्तामाथि आक्रमण हुने गरेको छ ।