काठमाडौं, झण्डै दुई तिहाइ बहुमत पाएर चुनावअघि नै भावी प्रधानमन्त्री भनेर जनतासँग मत मागिएका वरिष्ठ नेता वालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरिएको पाँच महिना पुग्न नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि गिरिजा–प्रवृत्ति हावी हुन पुगेको छ र जनताले विश्वास गरेर प्रधानमन्त्री बनाउन मत दिएका बालेन सरकारविरुद्ध पार्टी सभापति रवि लामिछानेकै अगुवाइमा समानान्तर सत्ताको अभ्यास हुन थालेको छ ।
‘सुशासन पहिला’ भनेर सत्ता सम्हालेका शाहलाई सुरुदेखि नै स्वतन्त्र रूपमा काम गर्न दिइएको छैन र उनका प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व नै प्रत्यक्ष अप्रत्यक्ष रूपमा अवरोध बन्दै आएको पछिल्लो समय पार्टी सभापति लामिछानेले विवादित चरित्रका चलुवा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई च्यापेर प्रधानमन्त्री शाहको तेजोवध गर्ने प्रयास गरेको देखिएको छ । त्यसैको निरन्तरता स्वरूप बुधबार प्रधानमन्त्रीले बोलाउनुपर्ने संसदीय दलको बैठक पार्टी सभापतिले बोलाए ।
सभापति लामिछानेले बोलाएको उक्त संसदीय दलको बैठकका प्रधानमन्त्री शाहले बहिष्कार गरे तर संसदीय दलको नेताले बहिष्कार गरेको बैठकमा सभापति लामिछानेले अर्थमन्त्री वाग्ले र कानुनमन्त्री सोविता गौतमलाई विश्वासमा लिएर आयोजना गरेको प्रफुल्लित अनुहारले नै प्रस्ट पारेको देखिएको थियो । बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि उक्त बैठक रोकिनुपर्ने थियो र संसदीय मर्यादाअनुसार पनि अर्को दिन बैठक बोलाइनुपर्ने थियो ।
संसदीय अभ्यासमा नवआगन्तुक रास्वपा सभापति लामिछानेले त्यस्तो गर्न अनावश्यक ठानेनन् र प्रधानमन्त्री उपस्थितिविना नै बैठक बसाले । प्रधानमन्त्री शाहको अनुपस्थितिमा सरकारका गतिविधिको खिल्ली उडाउने प्रयास गरियो र अन्त्यमा सबै मन्त्रीले दैनिक क्रियाकलाप आरएसपीएपमा अपडेट गर्नुपर्ने निर्णय गरियो । यसअघि रास्वपा केन्द्रीय समितिको बैठकले मन्त्रीहरूले १५÷१५ दिनमा घण्टी घरमा उपस्थित भएर कार्यविवरण बुझाउनुपर्ने निर्णय गरिएको थियो ।
भागवण्डाको आधारमा मन्त्री बनेका आफ्ना आन्तरिक विपक्षीहरूलाई पनि लगाम लगाउने हिसाबले रास्वपा सभापति लामिछानेले यस्ता निर्णय गरेका थिए । त्योभन्दा अघि उनले पार्टी विधान संशोधन गरेर पार्टी सभापतिले चाहेका बेला स्वतः संसदीय दलका नेतालाई पदबाट हटाउन सक्ने बुँदा थपेका थिए भने बुधबार प्रधानमन्त्रीले बहिष्कार गरेको संसदीय दलको बैठकले विधान संशोधन गर्न कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । पार्टीका यी सबै गतिविधिले प्रधानमन्त्री शाहलाई अक्षम र नालायक सावित गरेर हटाउने छिद्र खोजिरहेको स्पष्ट रूपमा देख्न थालिएको छ ।
शाहले प्रधानमन्त्री नियुक्त भएदेखि नै ‘सुशासन पहिला’ भन्ने नारा दिएर मन्त्री नियुक्तसँगै सहयोगी नियुक्त गरेर पठाएका थिए । अहिलेसम्म प्रधानमन्त्री शाह कुनै पनि मन्त्रीले गरेका राम्रा–नराम्रा सबै कामको राम्ररी जानकारी लिएर बसेका छन् । तीमध्ये पनि बदनियतपूर्वक काम गर्ने अर्थमन्त्री वाग्लेका काममाथि विशेष निगरानी रहेको बुझिएको छ ।
पर्यटनमन्त्री खडक राज पोडेल र सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कुरै नबुझी काम गर्ने गरेको पीएमओको बुझाइ रहेको छ । प्रधानमन्त्री शाहले यसरी मन्त्रीहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न सघाएर अघि बढिरहेको बेला पार्टी सभापति लामिछानेका आसेपासेले गृहमन्त्री सुधन गुरुङले एक्सन लिएका घटनाहरूमा प्रतिरक्षाको भूमिका खेल्ने गरेको र कारबाहीको निशानामा परेका व्यक्तिहरूँग सौदाबाजीको प्रयास गरेको सूचनाले पनि पीएमओ झनै संशकित बन्दै गएको छ । कथंकदाचित झुक्किएर सत्ताको बल आफ्नो खुट्टामा आइपुगे पनि सहज रूपमा उतै बालेन शाहतिर फर्काउने उद्घोष गरेका सभापति लामिाछानेका गतिविधि भारत भ्रमणबाट फर्किएपछि बिस्तारै फेरिँदै गएको देखिएको छ ।
गिरिजाप्रसादले कृष्णप्रसादलाई हटाएजस्तै गरी आफूलाई रविले हटाउन सक्ने शंका अहिले प्रधानमन्त्री शाहको मनमा परिसकेको छ र पार्टी सभापतिकै योजनाअनुसार सभामुख डीपी अर्यालले पनि आफूलाई च्याप्न खोजेको प्रधानमन्त्री शाहको बुझाइ रहेको निकटतम सूत्रहरूको दाबी रहेको छ ।