काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि लागेका आरोपबारे आन्तरिक छानबिन सुरु गर्दै उनलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा सुनारमाथि लागेका आरोपबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सञ्चारमाध्यममा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी विषयमा छानबिन अघि बढाइएको पार्टीले जनाएको छ ।
रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ ।‘घटनाको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।छानबिन प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीले जनाएको छ ।
रास्वपाले राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै विज्ञप्तिमा आन्तरिक तथा सरकारी अनुसन्धानको निष्कर्षका आधारमा कानुन र पार्टी विधानबमोजिम थप कदम चालिने जनाइएको छ ।
कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिइने रास्वपाले स्पष्ट पारेको छ ।
