काठमाडौं, सामसङ नेपालले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड८ र ग्यालेक्सी जेड फ्लिप८ सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ सिरिजसँगै ग्यालेक्सी वाच९ र ग्यालेक्सी वाच अल्ट्रा२ पनि सार्वजनिक गरेको हो ।
सामसङका अनुसार नयाँ फोल्डेबल सिरिजमा कृत्रिम बुद्धिमत्ता (एआई), ठूलो डिस्प्ले, कनेक्टिभिटी र स्मार्ट इकोसिस्टमलाई प्राथमिकता दिइएको छ । कम्पनीले फोल्डेबल उपकरणलाई एआईमा आधारित काम, सामग्री सिर्जना, समीक्षा तथा विभिन्न एपबीचको कामलाई सहज बनाउने प्लेटफर्मका रूपमा प्रस्तुत गरेको छ । ग्यालेक्सी जेड फोल्ड८ सिरिजका ठूला डिस्प्लेले एकैपटक विभिन्न काम गर्न सहज बनाउने कम्पनीको दाबी छ ।
यस्तै, ग्यालेक्सी जेड फ्लिप८ ले कम्प्याक्ट डिजाइनमा एआई सुविधा र रचनात्मक प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ । नयाँ वाच सिरिजमार्फत स्वास्थ्य तथा वेलनेससम्बन्धी कनेक्टेड सुविधालाई पनि विस्तार गरिएको छ । सामसङ नेपालले यसपटक उत्पादन बिक्रीसँगै फाइनान्सिङ, ट्रेड–इन, कनेक्टिभिटी र ओम्निच्यानल सेवासहितको ‘ओनरसिप इकोसिस्टम’ मा जोड दिएको जनाएको छ ।
कम्पनीका अनुसार एचएफएलमार्फत ४० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध हुनेछ । योग्य ग्राहकका लागि ईएमआई अवधि ३६ महिनासम्म विस्तार गरी डाउन पेमेन्ट २० प्रतिशतसम्म घटाउने लक्ष्य राखिएको छ । ट्रेड–इन बोनस तथा अन्य साझेदार सुविधामार्फत खरिदको प्रारम्भिक आर्थिक भार घटाउने योजना पनि कम्पनीले अघि सारेको छ । सामसङले आईएमएस र हिम इलेक्ट्रोनिकसँगको सहकार्यमा डिजिटल योग्यता जाँच, सुविधा छनोट, प्रि–अर्डर, डेलिभरी तथा सामसुङ ब्रान्ड स्टोरबाट उत्पादन प्राप्त गर्ने प्रक्रियालाई एकीकृत गर्ने जनाएको छ । डिजिटल केवाईसी तथा रेमिट्यान्स प्रमाणीकरणबाट खरिद प्रक्रियासम्म एउटै प्रणालीमार्फत सेवा उपलब्ध गराउने लक्ष्य कम्पनीको छ ।
ट्रेड–इन कार्यक्रमअन्तर्गत पुराना उपकरणको परीक्षण, मूल्यांकन र प्रशोधनका लागि एपिकुडो तथा स्थानीय साझेदारसँग सहकार्य गरिने कम्पनीले जनाएको छ । कम्पनीले एचएफएल, इ–सेवा, एनसेल, एपिकुडो, रेमिट्यान्स साझेदार, आईएमएस र हिम इलोक्ट्रोनिक्सलाई आफ्नो साझेदार इकोसिस्टममा जोडेको जनाएको छ । यी साझेदारमार्फत फाइनान्सिङ, कनेक्टिभिटी, ट्रेड–इन, रिवार्ड तथा बिक्री व्यवस्थापनसम्बन्धी सेवा एकीकृत गर्ने कम्पनीको योजना छ । सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले फोल्डेबल प्रविधिले एआई प्रयोगका लागि ठूलो कार्यक्षेत्र उपलब्ध गराउने बताए ।
नयाँ ग्यालेक्सी जेड सिरिजका लागि प्रि–अर्डर १३ अगस्टदेखि खुला गरिएको छ । कम्पनीका अनुसार स्टक उपलब्ध रहुन्जेल प्रि–अर्डर लिन सकिनेछ । भीआईपी प्रि–अर्डर प्याकेजमा दुई वर्षको एनसेल अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ग्यालेक्सी वाच९ वा वाच अल्ट्रा२ खरिदमा १० हजार रुपैयाँसम्म छुट, गुगल एआई प्रो को छ महिनाको सुविधा, फोन कभर तथा थप वारेन्टीसम्बन्धी सुविधा समावेश छन् । कम्पनीले भीआईपी प्याकेजबाट अधिकतम ६८ हजार रुपैयाँसम्मको लाभ उपलब्ध हुने जनाएको छ ।
सामान्य प्रि–अर्डर प्याकेजमा दुई वर्षको एनसेल डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, गुगल एआई प्रो को छ महिनाको सुविधा, फोन कभर र थप वारेन्टीसम्बन्धी सुविधा छन् । यस प्याकेजबाट ५८ हजार रुपैयाँसम्मको लाभ प्राप्त गर्न सकिने कम्पनीको दाबी छ ।