काठमाडौं, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार काठमाडौमा सम्पन्न आठौँ वार्षिक साधारण सभाले सुगम घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ बोर्डमा अध्यक्ष घिमिरेसंगै निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ, लर्निङ चेयर चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर शाइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयर निदा दून मल्ल, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स चेयर सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर पुनीत अग्रवाल, स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर यश अग्रवाल र फाइनान्स एन्ड इन्टरनेसनल रिले्सन्स चेयर अंकुर अग्रवाल रहेका छन् । यस्तै को–चेयरहरूमा न्यान्सी अग्रवाल (मेम्बरसिप एन्ड इन्टिग्रेसन), सचेत मानन्धर (स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन) र चेतन प्रधान (गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स) चयन भएका छन् ।
साधारणसभामा राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष बीरेन्द्रराज पाण्डे तथा पूर्वमन्त्री अनिल सिन्हाको उपस्थिति रहेको थियो । सो अवसरमा विगत वर्षमा उत्कृष्ट योगदान गर्ने सदस्य तथा च्याप्टरहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर (पुरुष)’, नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’ र सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो ।
साथै, सक्रिय सदस्य विस्तार तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरेकोमा सीएनआईवाइईयफ लुम्बिनी च्याप्टरलाई ‘च्याप्टर ग्रोथ अवार्ड’ र उत्कृष्ट कार्यसम्पादनसहित च्याप्टरलाई अनुकरणीय बनाएकोमा सीएनआईवाइईयफ कोशी च्याप्टरलाई ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ द्वारा सम्मानित गरिएको थियो । योजना आयोगका सदस्य डा. मल्ल, पूर्वमन्त्री अनिल सिन्हा, परिसंघका अध्यक्ष पाण्डेले नयाँ सञ्चालक समितिलाई पिन लगाएका थिए ।
कार्यक्रममा आयोगका सदस्य डा. मल्लले आयागले उद्यमशीलता विकास सुविधाका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउँदै सीएनआईवाइईएफसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताए । परिसंघका अध्यक्ष पाण्डेले देशको आर्थिक समृद्धिमा सीएनआईवाइईयफको भूमिकाको प्रशंसा गर्दै युवा नेतृत्वलाई हौसला प्रदान गरिनुपर्ने बताए ।