काठमाडौं, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेल र उनकी श्रीमती निकिता पौडेललाई सोही पार्टीका उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार काभ्रेपलाञ्चोकको दुसित थानी हिमालयन रिसोर्टमा दिउँसो साढे तीन बजेको समयमा स्वागत गरे । उक्त रिसोर्टमा अर्थमन्त्री वाग्लेको समेत भिल्ला छ । सोही भिल्लामा शनिबार दिउँसो ३ बजेदेखि बसेर आइतबार दिउँसो करिब साढे २ बजेको समयमा उनीहरू निस्किएर काठमाडौं आएका हुन् ।
तर, सो भिल्ला अर्थमन्त्री वाग्लेलाई सेटिङमै मिलेको स्रोतको दाबी छ । वाग्लेले उक्त रिसोर्टमा गरेको लगानी मन्त्रीको सम्पत्ति विवरणमा पनि उल्लेख छ । तर, स्रोतका अनुसार उक्त लगानी उनको पसिनाको कमाइ भने होइन ।
कुनैबेला तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती डा. आरजू राणा देउवाका विश्वासपात्र थिए, वाग्ले । उनी त्यही विश्वासपात्र भएको कारण राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत बनेका थिए । आरजूको कारण ठूला व्यापारिक घरानासँग हिमचिम बढाएका वाग्लेले काम गरिदिएबापत ती व्यापारिक घरानाहरूबाट राम्रैसँग सेटिङको आम्दानी गरेका थिए । कतिपयले भने नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनेका डोटी सिलगढीका रमेश कुमार हमाल र उनको टिमले वाग्लेलाई २०७८ सालमा ठूलो आर्थिक सहयोग गरेको दाबी गर्छन् । हमाल २०७८ फागुन ५ गते बोर्ड अध्यक्ष नियुक्त भएका थिए भने २०८० पुस २० गते बाहिरिएका थिए । बोर्ड अध्यक्ष छनौटको जिम्मेवारी तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको समितिले पाएको थियो । तर, हमाल वाग्लेसँग निकट हुन् ।
वाग्ले २०७९ साल चैत १६ गते नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए । त्यसपछि २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पौडेलले भने चितवन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए ।
नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल निर्माण व्यवसायी महासंघलगायत विभिन्न व्यावसायिक संघ/संस्थाको नेतृत्वसँग भेटवार्ता गर्दा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सहभागी नगराउँदा तनावमा रहेका अर्थमन्त्री वाग्लेले सभापति लामिछानेसँग नयाँ सरकार बनाउने र बालेनलाई क्रमशः कमजोर बनाएर पाखा लगाउने सेटिङको बारेमा वार्ता गरेको स्रोतको दाबी छ । केही दिनअगाडि प्रधानमन्त्री बालेनले पनि अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति प्रश्न उठाएर उनलाई मन्त्रीबाट हटाउन सभापति लामिछानेसमक्ष प्रस्ताव गरेका छन् ।
संविधानले मौलिक हकको रूपमा स्वीकार गरेको शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत समता कर र बिजुलीमा ५ र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि अर्थमन्त्री वाग्ले क्रमशः अलोकप्रियतातर्फ अगाडि बढ्दै छन् । बजेटभन्दा अगाडिदेखि प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेबीच बढेको मनमुटाव असार अन्तिम सातादेखि त दुस्मनीमै परिणत भएको छ । सोही कारण व्यवसायी र आर्थिक क्षेत्रका विभिन्न समूहसँग वार्ता गर्दा प्रधानमन्त्री बालेनले अर्थमन्त्री वाग्लेलाई सँगै राख्ने नै गरेका छैनन् । यो घटनाले रास्वपाभित्र चरम विवाद छ भन्ने पुष्टि गर्छ । बालेन सरकार आफ्नै कारण अलोकप्रिय बन्दै जानुमा अर्थमन्त्री वाग्लेको कर नीतिको पनि हात छ ।
तर, झण्डै २३ घण्टाको बसाइमा अर्थमन्त्री वाग्लेले आफ्नो असन्तुष्टि राखेकोमा कुनै शंका छैन । ‘प्रधानमन्त्री बालेनले अर्थमन्त्री वाग्लेलाई हटाउन केही दिनअगाडि प्रस्ताव गरेपछि त्यसलाई मिलाउनका लागि सभापति लामिछानेले वार्ता गरेका हुन्’, रास्वपाका निकट स्रोतले भन्यो, ‘तर अर्थमन्त्रीले प्रधानमन्त्रीको निर्णयको कारण सरकार अलोकप्रिय बनेको जिकिर गर्दै कसरी सरकार र पार्टी चलाउने भन्ने बारेमा प्रस्ताव गरेका हुन् ।’