काठमाडौं, नेपालका लागि ह्युन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै उत्पादित मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ भेन्युमा ट्विन हर्न एलईडी डिआरएलएस, होराइजन एलईडी रियर ल्याम्प, अगाडि–पछाडि सार्न मिल्ने सनरुफ र १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले उपलब्ध छन् । गाडीमा ६ वटा एयरब्याग पनि राखिएको कम्पनीले जनाएको छ ।
मेड इन नेपाल भेन्यु १.२ लिटर पेट्रोल इन्जिन र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध हुनेछ । यो तीन भेरियन्टमा बजारमा आएको कम्पनीले जनाएको छ । कम्पनीले एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डिसिटी (९९८ सीसी पेट्रोल) गरी तीन भेरियन्ट सार्वजनिक गरेको हो । यसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार निर्धारण गरिएको छ ।
त्यस्तै, भेन्यु एन लाइनलाई स्पोर्टी संस्करणका रूपमा सार्वजनिक गरिएको छ । यसमा एन–ब्रान्डेड सिट, एन–ब्रान्डेड अलोय ह्विल, सिग्नेचर रेड हाइलाइटसहितको बडी कलर क्लाडिङ तथा एन लाइन स्टाईल एलिमेन्ट राखिएका छन् । भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।