गौशाला (महोत्तरी), महोत्तरी सहित तराई(मधेस प्रदेशका जिल्लाको जनजीवन अत्यधिक गर्मी बढेका कारण प्रभावित भएको छ। साउनको चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा केही दिनयता मध्याह्नको तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न थालेपछि टन्टलापुर घाम लाग्ने क्रमले गर्मी थप बढाएको स्थानीयको भनाइ छ ।
मध्याह्नमा घरबाहिर निस्कनसमेत कठिन हुने गरी गर्मी बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। विहानैदेखि साँझसम्म चर्को घाम लाग्नेहुँदा छहारीमा बस्दा पनि तर्तरी पसिना आउने र पंखाबाट समेत तातो हावा आउने गरेको उनीहरू बताउँछन्।
मधेश प्रदेशका विभिन्न जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेकाले तातो हावाको जोखिम बढेको वातावरण विज्ञ अशोक यादवले बताए। केही दिनअघि सुरु भएको यो अवस्था शुक्रबारसम्म कायम रहने उनको अनुमान छ। केही दिनयता तराई–मधेसमा ‘लु’ अर्थात् तातो हावाको प्रभाव बढेको छ।
जनकपुरधामको अधिकतम तापक्रम मंगलबार ४१ डिग्री सेल्सियस पुगे पनि महसुस हुने तापक्रम करिब ४८ डिग्री सेल्सियससम्म देखिएको जल तथा मौसम विज्ञान कार्यालय जनकपुरका प्रमुख राजीव झाले जानकारी दिए।