काठमाडौं । नेकपा एमालेले पार्टी संगठनलाई थप सुदृढ, विस्तार र प्रविधिमैत्री बनाउने उद्देश्यसहित १० बुँदे संकल्प पारित गरेको छ । केन्द्रीय संगठन विभागको आयोजनामा काठमाडौंमा सम्पन्न दुईदिने राष्ट्रिय कार्यशालाले पार्टी निर्माण र विस्तारलाई केन्द्रमा राख्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो ।
कार्यशालाले प्रत्येक संगठित सदस्यले न्यूनतम तीन जना नयाँ सदस्य तयार गर्ने संकल्प गरेको छ । साथै, पार्टी सदस्यता विस्तार अभियानलाई टोल तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यशालाले पार्टी सदस्यता नवीकरणलाई अभियानकै रूपमा अघि बढाउने, विज्ञान तथा प्रविधिको अधिकतम प्रयोग गर्ने तथा युवा पुस्ताको सहभागिता र आवद्धता बढाउने विषयलाई प्राथमिकतामा राखेको छ ।
यसैगरी, गत निर्वाचनमा एमालेलाई मत दिएका मतदाताहरूलाई पार्टी गतिविधिमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्ने निर्णय पनि कार्यशालाबाट गरिएको छ ।
कार्यशालामा जिल्ला इन्चार्ज, प्रदेश तथा जिल्ला अध्यक्ष, संगठन विभाग प्रमुख र विभिन्न जनसंगठनका अध्यक्ष तथा संगठन प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टी संगठनको वर्तमान अवस्था, चुनौती र आगामी रणनीतिबारे समीक्षा समेत गरिएको थियो ।
प्रदेशगत तथा विषयगत समूह निर्माण गरी गरिएको छलफलका निष्कर्षहरू सम्बन्धित प्रतिनिधिहरूले प्रस्तुत गरेका थिए । सुदूरपश्चिमबाट कृष्णप्रसाद जैशी, राजधानी प्रदेशबाट नारायण सिलवाल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलाबजंग शाह र मधेशबाट चन्द्रेश्वर मण्डलले आफ्नो समूहको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी, कोशी प्रदेशबाट धनश्यामा खतिवडा, बागमती प्रदेशबाट दावा दोर्जी लामा, सम्पर्क समन्वय समूहबाट अशोक ठकुरी तथा जनसंगठन समूहबाट महाराज गुरुङले छलफलको निष्कर्ष कार्यशालामा पेश गरेका थिए ।
एमालेले कार्यशालाबाट पारित संकल्पलाई आगामी दिनमा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र जनसम्बन्ध सुदृढीकरणको आधारका रूपमा कार्यान्वयन गर्ने जनाएको छ।