काठमाडौं, योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले गैरकानुनी रूपमा चिकित्सकीय अभ्यास गरेको आरोपमा पक्राउ परेकी प्राकृतिक चिकित्सक डा. चेतना पौडेलको तत्काल रिहाइको माग गरेको छ।संघले आइतबार जारी गरेको विज्ञप्तिमा डा. पौडेलको गिरफ्तारीलाई अन्यायपूर्ण र गैरकानुनी भएको दाबी गर्दै उनी योग तथा प्राकृतिक चिकित्सा (बीएनवाईएस) विषयकी दर्तावाला चिकित्सक रहेको जनाएको छ। संघका अनुसार उनले आफ्नो शैक्षिक योग्यता र कानुनी कार्यक्षेत्रभित्र रहेर पेशागत अभ्यास गरिरहेकी छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डा. पौडेललाई असार ९ गते काठमाडौंको सतुङ्गलस्थित स्पार्क हेल्थ एन्ड रिसोर्टबाट पक्राउ गरेको थियो। नेपाल मेडिकल काउन्सिलको प्रतिवेदनका आधारमा उनीमाथि गैरकानुनी रूपमा चिकित्सकीय अभ्यास गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यद्यपि, योग तथा प्राकृतिक चिकित्सक संघले डा. पौडेल भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय (आरजीयूएचएस) अन्तर्गत प्राकृतिक चिकित्सा तथा योग विज्ञानमा स्नातक (बीएनवाईएस) अध्ययन पूरा गरेकी योग्य चिकित्सक भएको उल्लेख गरेको छ। संघका अनुसार उक्त कार्यक्रम भारतका ७० भन्दा बढी मेडिकल कलेज तथा विश्वविद्यालयमा सञ्चालन हुँदै आएको छ भने उनी भारतको केन्द्रीय योग एवं प्राकृतिक चिकित्सा अनुसन्धान परिषद्मा समेत दर्ता भएकी चिकित्सक हुन्।संघले नेपालमा प्राकृतिक चिकित्सा तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिका लागि छुट्टै नियामक परिषद् स्थापना नभएकाले हाल नेपाल स्वास्थ्य व्यवसायी परिषद्मार्फत दर्ता र अभ्यास गर्ने कानुनी व्यवस्था रहेको जनाएको छ। सोही व्यवस्थाअनुसार डा. पौडेलले परिषद्बाट अनुमति प्राप्त गरी पेशागत अभ्यास गरिरहेको दाबी गरिएको छ। साथै, उनको शैक्षिक योग्यताको त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण भइसकेको पनि संघले जनाएको छ।
विज्ञप्तिमा विश्वविद्यालयले बीएनवाईएस स्नातकलाई दीक्षान्त समारोहमा ‘डा.’ उपाधिसहित प्रमाणपत्र प्रदान गर्ने भएकाले नामअघि ‘डा.’ लेख्नु गैरकानुनी नभएको उल्लेख छ। परिषद्हरूको भूमिका शैक्षिक उपाधि दिने नभई पेशागत दर्ता र नियमन गर्ने भएकाले विश्वविद्यालयबाट प्राप्त उपाधि प्रयोग गर्न रोक लगाउन नमिल्ने संघको तर्क छ।संघले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आचारसंहिता र ‘प्रोफेसनल इन लेभल–ए नेचुरोप्याथी एन्ड योगिक साइन्स’ अन्तर्गत प्राकृतिक चिकित्सकले बिरामीको प्रारम्भिक मूल्यांकन, स्वास्थ्य परीक्षण, प्रयोगशाला तथा रेडियोलोजी परीक्षणको व्याख्या, रोग पहिचान र प्रमाणमा आधारित स्वास्थ्य सेवा प्रदान गर्न सक्ने व्यवस्था रहेको जनाएको छ। त्यसैले यस्ता अभ्यासलाई गैरकानुनी भन्न नमिल्ने संघको दाबी छ।
यसअघि असार १३ गते जारी अर्को विज्ञप्तिमार्फत पनि संघले बीएनवाईएस डिग्री अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त साढे पाँच वर्षे चिकित्सा शिक्षा भएको र नेपालमा नेपाल संस्कृत विश्वविद्यालय तथा मनमोहन प्राविधिक विश्वविद्यालयले सम्बन्धन दिएर सञ्चालन गरिरहेको स्पष्ट पारेको थियो। चिकित्सा शिक्षा आयोगको स्वीकृति तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षापछि मात्र प्राकृतिक चिकित्सकका रूपमा अभ्यास गर्न पाइने कानुनी व्यवस्था रहेको संघको भनाइ छ।संघले नेपाल मेडिकल काउन्सिल एलोपेथिक चिकित्सकको नियमन गर्ने संस्था भएकाले बीएनवाईएस चिकित्सक त्यसमा दर्ता नभएको आधारमा गैरकानुनी अभ्यासको आरोप लगाउन नमिल्ने तर्क पनि अघि सारेको छ।
प्राकृतिक चिकित्सा क्षेत्रमा देखिएको कानुनी अस्पष्टता अन्त्य गर्न सरकारले तत्काल प्राकृतिक चिकित्सा परिषद् गठन गर्नुपर्ने, प्राकृतिक चिकित्सकको दर्ता तथा नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने, योग तथा प्राकृतिक चिकित्सा सेवालाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा समावेश गर्नुपर्ने तथा पेशागत सम्मान र सुरक्षा सुनिश्चित गर्नुपर्ने माग संघले गरेको छ।यसैबीच, भारतीय प्राकृतिक चिकित्सा तथा योग स्नातक चिकित्सक संघ (आईएनवाईजीएमए) ले पनि डा. पौडेलको पक्राउप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा डा. पौडेल भारतको बेङ्गलुरुस्थित एसडीएम कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेजबाट बीएनवाईएस अध्ययन पूरा गरेकी योग्य चिकित्सक भएको उल्लेख गर्दै उनीविरुद्ध लगाइएको आरोपको निष्पक्ष छानबिन र कानुनी अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।