काठमाडौं । एनके सिंह मेमोरियल इंग्लिस प्रिपरेटरी सेकेन्डरी स्कुल (ईपीएस)मा विद्यार्थीलक्षित क्यान्सर सचेतना तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।
गुरु ट्राभल्स लिमिटेड र क्यान्सर काउन्सिल नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ७० भन्दा बढी विद्यार्थी तथा शिक्षक सहभागी भएका थिए । कार्यक्रममार्फत सार्वजनिक स्वास्थ्य र पर्यटनसम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ । क्यान्सर सचेतना सत्रमा डा. किशोर कुमार प्रधानाङ्ग र डा. आज्ञा प्रधानाङ्गले क्यान्सरका प्रारम्भिक लक्षण, रोगबाट बच्ने उपाय, स्वस्थ जीवनशैली, सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने जोखिम, नियमित स्वास्थ्य परीक्षण तथा प्रारम्भिक पहिचानको महत्वबारे जानकारी गराएका थिए । उनीहरूले स्वस्थ जीवनशैली अपनाए धेरै प्रकारका क्यान्सरको जोखिम कम गर्न सकिने बताए ।
त्यसैगरी, गुरु ट्राभल्स लिमिटेडका सेल्स हेड सुमन राज काफ्लेले नेपालको पर्यटन क्षेत्रको सम्भावना, आन्तरिक पर्यटन प्रवर्द्धन, दिगो तथा जिम्मेवार पर्यटन, पर्यटन क्षेत्रमा करियरका अवसर तथा राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदानबारे प्रस्तुतीकरण दिएका थिए । उनले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा विद्यार्थीहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए । कार्यक्रममा प्रस्तुतीकरण, शैक्षिक भिडियो प्रदर्शन तथा अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थियो । विद्यालयकी प्रधानाध्यापक प्रमिला सिंहले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना, सामाजिक उत्तरदायित्व र सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताइन् ।